लोक आवाज,
जनकपुरधाम, असोज ४ । जनमत पार्टीको युवा संगठन जेनजीको प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीले पूर्ण रूपमा प्रभावित भएका मधेस प्रदेशका सरकारी कार्यालयहरू बडादसैँपछि मात्रै सञ्चालनमा आउने भएका छन्।
मुख्यमन्त्री सतिशकुमार सिंहले आज पत्रकारहरूसँग कुरा गर्दै संवेदनशील संरचनाहरूमा गम्भीर क्षति पुगेको र मर्मत तथा पुनःनिर्माणको काम भइरहेकाले सेवा प्रवाहमा केही समय लाग्ने बताएका हुन्। “सुरक्षा अवस्था क्रमशः सामान्य हुँदैछ, कर्मचारीहरू कार्यस्थल फर्किन थालेका छन्,” मुख्यमन्त्री सिंहले भने, “तर संरचना र स्रोतको अभावका कारण पूर्णरूपमा सेवा सुरु गर्न अझै केही दिन कुर्नुपर्नेछ।” तोडफोड र आगजनीका कारण प्रदेशसभाभवनदेखि मुख्यमन्त्री कार्यालय र अन्य मन्त्रालयहरू प्रभावित भएका छन्। भौतिक पूर्वाधार विकास, ऊर्जा तथा सिँचाइ, श्रम तथा यातायात मन्त्रालयमा विशेष क्षति पुगेको छ। केही सवारीसाधन जलाइएको छ भने लुटपाटका घटनाहरू समेत भएको पुष्टि भएको छ।
प्रदेश सरकारका अनुसार, क्षतिको मूल्याङ्कन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ। मुख्यमन्त्री सिंहले उक्त समितिले प्रतिवेदन बुझाएपछि पुनःनिर्माणको प्रक्रिया तीव्र रूपमा अघि बढाइने जानकारी दिए। सरकारी सेवा पुनः सञ्चालनमा ल्याउन सरकारले संरचना सुधार, जनशक्ति परिचालन र सुरक्षाको प्रत्याभूतिलाई प्राथमिकतामा राखेको बताइएको छ।




प्रतिक्रिया !