लोक आवाज,
जनकपुरधाम, असोज ३ । देशभर संविधान दिवस मनाइरहेका बेला मधेश केन्द्रित दलहरूको गठबन्धन संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा विरोध स्वरूप संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको छ।
मोर्चामा आवद्ध ६ मधेशवादी दलका कार्यकर्ताहरूले जनक चोकमा कालो पट्टी बाँधी विरोध प्रदर्शन गरेका थिए। उनीहरूले ‘असोज ३ – कालो दिन’, ‘जय मधेश’, ‘मधेशी एकता जिन्दावाद’ जस्ता नाराहरू लगाउँदै संविधानले मधेशी, थारु, आदिवासी जनजाति र अन्य उत्पीडित समुदायको अधिकारलाई पर्याप्त रुपमा समेट्न नसकेको गुनासो पोखेका छन्।
जनता समाजवादी पार्टी नेपालका जनकपुर नगर अध्यक्ष विष्णुदेव साहले २०६२ र ६३ को जनआन्दोलनपछि बनेको संविधानले मधेशको बलिदानलाई बेवास्ता गरेको बताए। उनले भने, “संविधानमा अधिकार समेटिएको छैन, गोली हानेर संविधान जारी गरियो। हामीसँग त्यो संविधान स्वीकार्य छैन।” साहले भने, केही मधेशवादी दलहरू आंशिक रूपमा संविधानको समर्थनमा देखिए पनि संघीय लोकतान्त्रिक मोर्चाले पूर्ण अधिकार सुनिश्चित नभएसम्म संविधान दिवसलाई कालो दिवसका रूपमा मनाउने जनाएको छ। मोर्चाले संविधान संशोधन वा पुनर्लेखन मार्फत उत्पीडित समुदायहरूको माग सम्बोधन गर्न सरकारलाई पुनः आह्वान गरेको छ।




प्रतिक्रिया !