लोक आवाज,
बारा, असोज ३ । बाराको जंगलमा पछिल्ला तीन महिनामा चार जनाको ज्यान लिएको र एक सैनिक हवलदारलाई घाइते बनाएको नरभक्षी बाघलाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका छन्।
राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोगमा नेपाली सेना, प्रहरी र डार्टिङ विशेषज्ञहरूको समन्वयमा बाघलाई जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित चुरियामाई सामुदायिक वनबाट समातिएको छ। प्रहरी चौकी अमलेखगञ्जका वरिष्ठ सई धनबहादुर श्रेष्ठका अनुसार, बाघको गतिविधि पत्ता लगाउन वनमा निगरानी क्यामराहरू राखिएका थिए, जसले बाघको राँगामाथि आक्रमण गर्ने दृश्य कैद गरे।
डार्ट गरी बेहोस पारेर बाघलाई नियन्त्रणमा लिइएको थियो। सुरक्षाकर्मी र प्राविधिक टोलीले ६ वटा हात्तीको सहयोग समेत लिएको थियो। नियन्त्रणमा लिइएको बाघलाई हाल पर्सा राष्ट्रिय निकुञ्जमा राखिएको छ। स्थानीय बासिन्दाले बाघ नियन्त्रणमा आएपछि राहतको सास फेरेका छन्।




प्रतिक्रिया !