लोक आवाज,
पर्सा, असोज ३ । संविधान दिवसका अवसरमा मधेस केन्द्रित सात राजनीतिक दलहरूको गठबन्धन संयुक्त लोकतान्त्रिक मोर्चाले वीरगञ्जमा संविधानको विरोधमा प्रदर्शन गर्दै उक्त दिनलाई ुकालो दिनुको रूपमा मनाएको छ।
संविधानले मधेसी समुदाय लगायत थुप्रै उत्पीडित वर्गको अधिकार समेट्न नसकेको भन्दै मोर्चाका नेता तथा कार्यकर्ताहरूले घण्टाघरस्थित शहीद स्मारकमा माल्यार्पण गर्दै विरोध जनाएका थिए। सहभागीहरूले हातमा कालो पट्टी बाँधी ‘अधिकारविहीन संविधान अस्वीकार्य, संविधानमा समावेशीता छैन’, जस्ता नारा लगाएका थिए। जनमत पार्टीका अध्यक्ष राम नरश यादवले संविधानमा मधेस र अन्य समुदायको हक अधिकार सुनिश्चित नभएको भन्दै संशोधन वा पुनर्लेखनको आवश्यकता औंल्याए। “संविधानमा त्रुटी छन्, जसलाई सच्याउनुपर्छ। संघीयता आए पनि धेरै अधिकार छुटेका छन्,” उनले भने।
सत्तामा सहभागी भए पनि आवाज नछोडेको भन्दै यादवले संसदभित्र र बाहिरबाट मधेसको मुद्दा उठाइरहने बताए। “सहिदको सम्मान र जनताको अधिकारका लागि यो संघर्ष निरन्तर चल्छ,” उनले स्पष्ट पारे। कार्यक्रममा जनमत पार्टीकी नेतृ करिमा बेगम, शशीकपुर मियाँ, निजामुदिन समानीलगायत मोर्चामा आबद्ध दलका नेताहरूको उपस्थिति थियो। नेतृ बेगमले महिलामाथिको भेदभाव अन्त्य गरी समानुपातिक हक सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्। २०७२ साल असोज ३ गते संविधान जारी भएको दिन वीरगञ्जमा लगाइएको कर्फ्यू तोड्ने क्रममा प्रहरीको गोलीबाट पर्साका शत्रुधन पटेलको ज्यान गएको र अन्य दुई घाइते भएको स्मरण गर्दै मोर्चाले सो दिनलाई मधेस आन्दोलनको पीडा र बलिदान सम्झाउने दिनका रूपमा मनाएको बताएको छ।




प्रतिक्रिया !