जनमत पार्टीमा दरार: ६ शीर्ष नेताको एकैपटक राजीनामा

जनमत पार्टीमा दरार: ६ शीर्ष नेताको एकैपटक राजीनामा

लोक आवाज,
जनकपुरधाम, असोज २ । जनमत पार्टीमा नेतृत्व विवादले नयाँ मोड लिएको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ जना शीर्ष नेताहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आजैदेखि सबै पद र सदस्यता छोड्दै सामूहिक रूपमा राजीनामा दिएका छन्।

राजीनामा दिने नेताहरूमा उपाध्यक्ष खान, केन्द्रीय प्रवक्ता डा. शरत सिंह यादव, युवा सङ्घ केन्द्रीय संयोजक सञ्जय कुमार यादव, स्वास्थ्यकर्मी सङ्घ केन्द्रीय संयोजक सी के सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर बम रहेका छन्। नेताहरूले अध्यक्ष डा. सिके राउतलाई लेखेको पत्रमा नेपालको जटिल राजनीतिक परिस्थिति र जनताको अपेक्षाअनुसार पार्टी नेतृत्वले आत्मालोचना गर्न असफल भएको आरोप लगाएका छन्। उनीहरूले नेतृत्व परिवर्तनको मागलाई बेवास्ता गर्दै अपमानजनक व्यवहार गरिएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

राजीनामा पत्रमा भनिएको छ, “हामीले पार्टी नेतृत्वलाई आत्मालोचना र नेतृत्व परिवर्तनको अल्टिमेटम दिएको थियौं। तर, नेतृत्वले हामीलाई फेसबुकमार्फत अपमानित बनाएको र जनभावनाको विरोध गरेको छ।” छ नेता सबै पदबाट हट्दा पनि नयाँ पुस्तासँग सहकार्य र पार्टीको मूल उद्देश्यप्रति प्रतिबद्धता जनाएका छन्। यसअघि अध्यक्ष राउतले ती नेताहरूलाई राजीनामा दिन २४ घण्टे अल्टिमेटम दिएका थिए भने, ती नेताहरूको दबाबपछि राउतले उल्टै राजीनामा दिन चेतावनीसमेत दिएका थिए। जनमत पार्टीभित्रको यो विवादले आगामी राजनीतिक स्थिरतामा प्रभाव पार्ने सम्भावना देखिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार