लोक आवाज,
जनकपुरधाम, असोज १ । यस वर्ष जनकपुरधाममा जेनजी आन्दोलनपछि सिर्जिएको त्रासपूर्ण वातावरणका कारण विश्वकर्मा पूजाको उल्लास कम रह्यो। गत साता भएको आन्दोलनपछि बजारहरु पूर्णरूपमा खुल्न नसक्दा पूजा सामान्य र सानो स्तरमा सम्पन्न भयो।
प्रत्येक वर्ष विभिन्न मेला र व्यापारिक गतिविधिसहित भव्य रूपमा मनाइने विश्वकर्मा पूजामा यस पटक व्यवसायीहरू अपेक्षित कारोबार गर्न असमर्थ भए। जानकी बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीका अनुसार आन्दोलनले सिर्जना गरेको डरका कारण पूजामा चहलपहल कम भएको छ। शोक दिवस परेको र महिलाहरू घर बाहिर ननिस्किएकाले पूजामा खल्लोपन छाएको छ। फूल व्यवसायी भोगेन्द्र माली र सरसजावट व्यवसायी रञ्जित पासवानले पनि बजार सुनसान र घाटा भोग्नु परेको बताए। मूर्तिकार जीवछ पण्डितले मूर्ति बिक्रीमा कमी आएको र मानिसहरूले मूर्तिको सट्टा फोटो किन्ने प्रचलन बढेको बताएका छन्।
सुनचाँदी व्यवसायी संघका अध्यक्ष पवन सिंहानियाले कर वृद्धिसँगै आन्दोलनले व्यवसायमा थप प्रभाव पारेको र भव्य उत्सवको अवस्था नभएको बताए। शोक दिवसको प्रभावका कारण प्रशासनले उत्सवमा हस्तक्षेप नगरेको जनकपुरधाममा सामान्यतया हुने सांगीतिक कार्यक्रम पनि यस पटक फाट्टफुट्ट मात्र सीमित भयो।



प्रतिक्रिया !