लोक आवाज,
काठमाडौँ, भदौ ३१ । प्रहरी प्रवक्ता डिआईजी विनोद घिमिरेले भदौ २३ र २४ गतेका प्रदर्शन, लुटपाट र आगजनीमा ७३ जनाको मृत्यु भएको जानकारी दिएका छन्। मृतकहरूमा प्रदर्शनकारी, प्रहरी, कैदीबन्दी तथा सर्वसाधारण रहेका छन्।
प्रहरीतर्फ ३ जना सुरक्षाकर्मी—असई मिलन राय, सहायक हवल्दार अमृत गुरुङ र जवान उत्तम थापा—आन्दोलन नियन्त्रणका क्रममा ज्यान गुमाएका छन्। नयाँ बानेश्वर क्षेत्रमा मात्र २१ जनाको मृत्यु पुष्टि भएको छ, जसमा केही घटनास्थलमै र केही अस्पतालमा उपचारको क्रममा मृत्यु भएका छन्। प्रदर्शनकारी मृतकमध्ये बुद्धिबहादुर तामाङ, सन्तोष बिक, सुलभराज श्रेष्ठ, श्रीयम चौलागाईं लगायत २० जनाको नाम सार्वजनिक भएको छ। भदौ २४ गतेको लुटपाट तथा आगजनीका क्रममा ३८ जनाको मृत्यु भएको पनि पुष्टि भइसकेको छ। भाटभटेनी सुपरमार्केट र विभिन्न निजी घरहरूमा १५ जनाको जलेको अवस्थामा शव भेटिएको छ।
त्यस्तै, कारागार तथा सुधारगृहमा भएको अशान्तिका कारण १० जना कैदीबन्दी र बालबन्दीको मृत्यु भएको छ। सरकारी निकायले घटनाको विस्तृत अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको छ।




प्रतिक्रिया !