लोक आवाज,
जनकपुरधाम, भदौ ३१ । जेनजी आन्दोलनको उथलपुथलको अवसर छोपी उपराष्ट्रपति रामसहाय प्रसाद यादवको निजी निवासमा लुटपाट भएको छ। उपराष्ट्रपतिको छोरा शत्रुधन यादवका अनुसार, लुटपाट गर्ने समूह जेनजी प्रदर्शनकारी नभई योजनाबद्ध लुटेरा समूह थिए।
उनले बताए अनुसार, घरमा तोडफोड गर्दै बहिनीको आउँदो मंसिर ८ गते हुने बिहेका लागि संकलन गरिएको गरगहना, नगद रकम र घरायसी अन्न समेत लुटेर जलाइएको छ। शत्रुधनले भने, “धेरै वर्ष लगाएर बनाएको घरमा बस्न नपाउँदै यस्तो घटना भोग्नु साह्रै दुःखद छ।” घटनापछि उपराष्ट्रपतिकी पत्नी चम्पादेवी यादव मानसिक रूपमा आहत भएकी छन् भने शत्रुधन स्वयं पनि बिरामी परेर अस्पतालमा उपचाररत छन्।
आन्दोलनकै क्रममा निजी र सार्वजनिक सम्पत्तिमा क्षति
यसअघि जेनजी आन्दोलनका क्रममा गत मंगलबार पूर्वमन्त्री किसान श्रेष्ठ, ज्वालाकुमारी साह लगायतका घरमा आगजनी र तोडफोड भएको थियो। बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार निजगढ, जीतपुरसिमरा, सिमरा, विश्रामपुर लगायतका क्षेत्रमा सार्वजनिक सम्पत्तिमा व्यापक क्षति पुगेको छ। आन्तरिक राजस्व कार्यालय, नगर कार्यालय, प्रशासनिक भवन, सवारी साधन र वडा कार्यालयहरूमा आगजनी र तोडफोड भएको छ।
प्रहरीले भनेका छन्, “आन्दोलनको आड लिएर निजी सम्पत्ति तथा सार्वजनिक संरचनामा आक्रमण गर्नेहरूलाई पहिचान गरी कानुनी कारबाही गरिनेछ।”
उपरीक्षक तामाङले थपे, “आज कारबाही नगरे जनतामा बदलाको भावना बढ्ने र भविष्यमा ठूलो दुर्घटना निम्तिन सक्छ।”




प्रतिक्रिया !