लोक आवाज,
काठमाडौँ, भदौ ३१ । जेनजी आन्दोलनका क्रममा केही दिन नेपाली सेनाको सुरक्षामा ब्यारेकमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु मंगलबार पहिलोपटक सार्वजनिकरूपमा देखिएका छन्। उनी पार्टीको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा पुगेर आगजनीबाट क्षतिग्रस्त भवनको निरीक्षण गरे। प्रचण्डले कार्यालय परिसरमै रहेको शहीद स्मारकमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। कार्यक्रममा माओवादी केन्द्रका शीर्ष नेताहरूको पनि उपस्थिति थियो।
भवन पुनर्निर्माण आफ्नै भरमा
कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, “अब पार्टी कार्यालय अरूको भरमा होइन, आफ्नै बलबुतामा नयाँ र भव्य बनाइन्छ।” उनको यो अभिव्यक्तिलाई सहयोगमा आधारित संस्कृति त्याग्दै आत्मनिर्भर संरचना निर्माणतर्फको संकेतको रूपमा हेरिएको छ।
पार्टीको पुनःसक्रियताको संकेत
जेनजी आन्दोलनका क्रममा माओवादी केन्द्रको पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको थियो। आन्दोलन चर्किएपछि प्रचण्डसहित शीर्ष नेताहरूलाई सेनाले सुरक्षाका लागि ब्यारेकमा राखेको थियो। त्यसयता पहिलोपटक सार्वजनिक भएका प्रचण्डको उपस्थिति पार्टी पुनःसंगठन र राजनीतिक सक्रियता पुनः आरम्भ भएको सन्देशका रूपमा लिइएको छ। कार्यक्रममा नेताहरूले आन्दोलनमा ज्यान गुमाएकाप्रति सम्मान प्रकट गर्दै हिंसाबाट मुक्त राजनीतिक अभिव्यक्तिको पक्षमा उभिनुपर्ने धारणा राखेका थिए।




प्रतिक्रिया !