लोक आवाज,
सिरहा, भदौ ३० । जेन–जी आन्दोलनको उत्कर्षमा लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटिएको हजारौं क्विन्टल खाद्यान्न फिर्ता हुन थालेको छ। इलाका प्रशासन कार्यालय लहानले कडा निर्देशन जारी गरेपछि आइतबारदेखि स्थानीय युवाहरूको सक्रियतामा चामल र चिनी फिर्ता गरिन थालिएको हो।
सूचना अधिकारी अनिलकुमार महतोका अनुसार, आइतबार बेलुकासम्म ७१ क्विन्टल चामल र १८ क्विन्टल चिनी फिर्ता भइसकेको छ। “फिर्ता गर्नेहरूको नाम गोप्य राखिएको छ,” उनले जानकारी दिए। केही व्यक्तिहरू आफैं आएर फिर्ता गरेका छन् भने केहीले स्थानीय युवाहरूको सहयोगमा सामग्री बुझाएका छन्। लहान प्रशासनले सिसिटिभी फुटेज र सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोका आधारमा पहिचान गरेर कडा कारबाही गर्ने चेतावनी दिएपछि सामग्री फिर्ता हुने क्रम सुरु भएको हो। प्रशासकीय अधिकृत सन्तोष रायका अनुसार, लुटपाटले लहानको छविमा नकारात्मक असर परेकाले यस्तो कदम चालिएको हो।
१० करोड नाघ्यो क्षति
खाद्य कम्पनीका अनुसार लुटपाटमा ८ हजार १४८ क्विन्टल चामल, ३ हजार २२० क्विन्टल चिनी, ५३ क्विन्टल धान, ८१ हजार ८१५ थान जुटका बोरा र विशेष फ्युमिगेसन सिटहरू लुटिएका छन्। कुल अनुमानित क्षति १० करोड ९१ लाख रुपैयाँ पुगेको जनाइएको छ।
आगजनी र डिजिटल चोरी
लुटपाटका क्रममा कार्यालय परिसरका कार र मोटरसाइकलमा आगजनी गरिएको थियो। साथै, कर्मचारी क्वार्टरबाट ल्यापटप, मोबाइल र ग्यास सिलिण्डर समेत लुटिएको छ।
पुनरावृत्तिको चेतावनी
यसअघि पनि मधेस आन्दोलनका बेला लहानस्थित खाद्य कम्पनीमा पटक–पटक लुटपाट भएकाले अबका दिनमा अझ सतर्कता आवश्यक रहेको स्थानीयहरू बताउँछन्। सामान्य प्रदर्शनकै क्रममा पनि यस्ता घटना दोहोरिने खतरा कायमै रहेको उनीहरूको भनाइ छ।




प्रतिक्रिया !