जेन–जी आन्दोलनमा जलेर मृत भेटिएका ८ शवको डिएनए परीक्षण गरिने

जेन–जी आन्दोलनमा जलेर मृत भेटिएका ८ शवको डिएनए परीक्षण गरिने

लोक आवाज,
काठमाडौँ, भदौ ३० । जेन–जी आन्दोलनको दौरान ज्यान गुमाएका केही व्यक्तिहरूको अझै पहिचान हुन नसकेको अवस्थामा, ८ वटा शव यस्ता छन् जुन पूर्ण रूपमा जलेर क्षतविक्षत भएका कारण डिएनए परीक्षणबिना पहिचान गर्न नसकिने चिकित्सकहरूले जनाएका छन्।

शिक्षण अस्पताल, महाराजगन्जको फरेन्सिक मेडिसिन विभागका प्रमुख डा। गोपाल चौधरीका अनुसार ती शवहरूको शारीरिक अवस्था यति भयावह छ कि अनुहार, औंठाछाप वा अन्य साधारण तरिकाबाट पहिचान गर्न सम्भव छैन। उनले भने, “अब ती शवहरू पहिचान गर्न डिएनए परीक्षण नै एक मात्र विकल्प हो।” प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार आन्दोलनका क्रममा देशभर ७२ जनाको ज्यान गएको छ। तीमध्ये ४६ वटा शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल ल्याइएको हो। अहिले सम्म २६ शवको पोष्टमार्टम सम्पन्न भइसकेको र २३ शव आफन्तले बुझिसकेको अस्पताल प्रशासनले जानकारी दिएको छ। तर २० शव अझै अस्पतालमै रहेका छन्, जसमा ८ वटा शव पूर्ण रूपमा जलेका छन्। बाँकी १२ शवमध्ये ११ जनाको सनाखत भए पनि परिवार सम्पर्कमा आएको छैन भने १ जनाको अझै पहिचान हुन बाँकी रहेको छ।

डा. चौधरीका अनुसार, “पोष्टमार्टमको प्रमुख उद्देश्य मृत्युको कारण पत्ता लगाउनु हो। तर जब शरीर पूरै जलेको हुन्छ, पहिचानका लागि समेत डिएनए परीक्षण आवश्यक हुन्छ।” यसैबीच, प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनमा ज्यान गुमाउने सबैलाई ‘सहिद’ घोषणा गर्दै प्रति परिवार १० लाख रुपैयाँ राहत दिने निर्णय गरिसकेकी छन्। तर पहिचान नभएका शव र परिवार सम्पर्कमा नआउँदा राहत वितरण र शव व्यवस्थापनमा समस्या देखिन थालेको छ। अस्पतालका चिकित्सकहरूको भनाइमा, डिएनए परीक्षण प्रक्रिया सुरु गर्न सरकारी संयन्त्र र परिवारजनको सहकार्य आवश्यक हुने हुँदा थप समय लाग्नसक्ने देखिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार