लोक आवाज,
काठमाडौँ, भदौ २ । देशभर अहिले मनसुन सक्रिय रहँदा जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्य बदली रहने पूर्वानुमान गरेको छ।
मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानमा रहिएकाले विशेषगरी पहाडी तथा केही तराई भूभागमा वर्षाको प्रभाव देखिने महाशाखाले जनाएको छ। दिउँसो कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। तराईका केही साना भूभागमा पनि मध्यम वर्षा देखिने अनुमान गरिएको छ। राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, साथै बाँकी पहाड तथा तराईका साना क्षेत्रहरूमा मध्यम वर्षा जारी रहनेछ।
उच्च जोखिमका क्षेत्र
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा अचानक बाढी, पहिरो वा सवारी अवरोध हुने सम्भावनालाई ध्यानमा राखेर स्थानीयवासीलाई सतर्कता अपनाउन मौसम महाशाखाले अपिल गरेको छ। यात्रा, खेतीपाती र निर्माण कार्यमा संलग्न सबैलाई आवश्यक सावधानी अपनाउन तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना अनुसरण गर्न समेत आग्रह गरिएको छ।




प्रतिक्रिया !