जनकपुर फर्किँदै पुरानै लयमा, आन्दोलनको प्रभाव मन्द

जनकपुर फर्किँदै पुरानै लयमा, आन्दोलनको प्रभाव मन्द

लोक आवाज,
जनकपुरधाम, भदौ २८ । जेनजी आन्दोलनले लामो समयसम्म तनावग्रस्त बनाएको मधेस प्रदेशको राजधानी जनकपुरधामसहित धनुषा जिल्लाको जनजीवन बिस्तारै सामान्य बन्दै गएको छ। आन्दोलनका कारण ठप्प भएको बजार, सरकारी सेवा र सुरक्षा व्यवस्था अब क्रमिक रूपमा लयमा फर्किन थालेका छन्। आजदेखि जनकपुरका अधिकांश पसलहरू खुलेका छन् भने सडकमा सवारीसाधनको चाप बढेको देखिन्छ। जानकी मन्दिरमा पूजा गर्न आउने भक्तजनहरूको संख्या पनि बढ्दै गएको मन्दिर प्रशासनले जनाएको छ। निजी तथा सार्वजनिक गाडीहरू पुनः सञ्चालनमा आउन थालेका छन्।

प्रशासन सक्रिय, सुरक्षा बल परिचालन

आन्दोलनका क्रममा खाली भएका प्रहरी चौकीहरूमा सुरक्षाकर्मीहरू पुनः फर्किन थालेका छन्। जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबारदेखि सबै सार्वजनिक सेवा अनिवार्य रूपमा सञ्चालनमा ल्याउने घोषणा गर्दै कार्यालयहरूको क्षति विवरण सङ्कलन र अभिलेख तयार गर्न निर्देशन दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा भने हालका लागि स्थगित गरिएको छ।

मर्मत कार्य जारी

जेनजी आन्दोलनको उग्र चरणमा तोडफोड र आगजनी भएका मधेस प्रदेश सरकारका मन्त्रालय भवन, जिल्ला प्रशासन कार्यालय, र अन्य सरकारी तथा सार्वजनिक भवनहरूको हाल सरसफाइ र मर्मत कार्य तीव्र रूपमा भइरहेको छ सार्वजनिक सुरक्षा मजबुत बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली जनकपुर र आसपासका क्षेत्रमा परिचालन गरिएको छ। कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले सुरक्षा सतर्कता अझै कायम राखिएको प्रशासनले जनाएको छ।

आन्दोलनले गरेको क्षति

प्रशासनका अनुसार, आन्दोलनको चरम चरणमा करिब दुई दर्जनभन्दा बढी सरकारी, सार्वजनिक र राजनीतिक दलका कार्यालयहरूमा आगजनी तथा तोडफोड भएको थियो। अहिले स्थिति नियन्त्रणमा आएको र जनजीवनमा सहजता फर्किरहेको प्रशासनको दाबी छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार