गगन थापाको भावुक सन्देश : ‘हामी सबैले गल्ती गर्‍यौँ, अब संविधानबाटै समाधान खोजौँ’

गगन थापाको भावुक सन्देश : ‘हामी सबैले गल्ती गर्‍यौँ, अब संविधानबाटै समाधान खोजौँ’

लोक आवाज ,

काठमाडौँ , २६ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिहीबार बिहान सार्वजनिक गरेका एक भावुक भिडियो सन्देशले देशको राजनीतिक वृत्तमा तरंग ल्याएको छ। पछिल्ला घटनाक्रमलाई सम्बोधन गर्दै उनले आफू र आफ्ना दलसहित सत्तारूढ शक्तिहरूबाट गम्भीर गल्ती भएको स्वीकार गर्दै त्यसप्रति पश्चाताप व्यक्त गरेका छन्।

थापाले हाल देखिएको विजयको भावनालाई पश्चातापमा परिणत हुन नदिन सबै दल र नागरिकलाई आग्रह गरेका छन्। उनले भने, “म अहिले पार्टीको नेताका रूपमा होइन, एक जिम्मेवार नागरिकका रूपमा बोलिरहेको छु। म अब पछाडिको सिटमा बस्छु। संविधानमै समाधान खोजौँ।”

उनले सन्देशमा आफ्नो व्यक्तिगत पीडादेखि राजनीतिक घटनाक्रमसम्मका विषय खुलाएका थिए। उनका अनुसार, उनले सामाजिक सञ्जाल बन्द नगर्न धेरै पटक सुझाव दिए पनि कांग्रेस सभापति शेरबहादुर देउवा र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो कुरा नसुनेको बताएका छन्।

थापाले विशेषगरी नयाँ पुस्ता अर्थात् जेनजीलाई अहिलेको विषम परिस्थिति सम्हालेर लैजानुपर्ने जिम्मेवारी दिन आग्रह गरे। “समाजमा सन्तुलन कायम गर्दै अघि बढ्नैपर्छ। भावनामा बगेर होइन, विवेकपूर्वक निर्णय गर्न जरुरी छ,” उनले भने।

सन्देशमा उनले पटकपटक आफूले गरेका गल्तीका लागि माफी माग्दै सुध्रिने वाचा पनि गरेका छन्। उनले भावुक हुँदै भने, “म सुध्रिने वाचा गर्छु। अहिलेको विषम परिस्थितिलाई हामी सबै मिलेर सम्हालौँ।”

थापाले आफ्ना व्यक्तिगत कठिनाइ पनि सार्वजनिक गरे। उनका अनुसार, हालैको अशान्त अवस्थामामा चिनिएका पार्टी कार्यकर्तादेखि मास्क लगाएका अपरिचित समूहसम्मले उनको घरमा आक्रमण गरी आगो लगाएका थिए। तर, केही सहृदयी नागरिकहरूले आफू, वृद्ध आमाबुवा र परिवारलाई सुरक्षित रुपमा उद्धार गरेको भन्दै उनले धन्यवाद ज्ञापन गरे।

राजनीतिक वृत्तका प्रेक्षकहरूले गगन थापाको सन्देशलाई आत्मालोचनासहितको महत्वपूर्ण सन्देशका रूपमा लिएका छन्। तर, कतिपयले यसलाई नयाँ राजनीतिक रणनीति सुरु गर्ने संकेतका रूपमा पनि व्याख्या गरेका छन्।

हाल मुलुक संक्रमणकालीन परिस्थितिबाट गुज्रिरहेको बेला थापाको सन्देशले राजनीतिक नेतृत्व र नागरिक समाजबीच नयाँ संवादको आवश्यकता झन् प्रस्ट पारेको देखिन्छ। उनले भनेझैँ, “हामीले संविधानबाटै समाधान खोज्नैपर्छ,” भन्ने वाक्य आजको सन्दर्भमा थप महत्त्वपूर्ण बनेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार