सेना मुख्यालयमा राष्ट्रपति, पूर्वप्रधान न्यायाधीश र सेनाप्रमुखबीच निर्णायक वार्ता सुरु

सेना मुख्यालयमा राष्ट्रपति, पूर्वप्रधान न्यायाधीश र सेनाप्रमुखबीच निर्णायक वार्ता सुरु

लोक आवाज ,

काठमाडौँ , २६ भदौ । नेपाली सेनाको मुख्यालयमा राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधान न्यायाधीश सुशीला कार्की र सेनाप्रमुख अशोकराज सिग्देलबीच उच्चस्तरीय वार्ता सुरु भएको छ। देशको वर्तमान राजनीतिक सङ्कट समाधानका लागि हुने भनिएको यो बैठकलाई निर्णायक मानिएको छ।

राष्ट्रपति पौडेललाई केही दिनदेखि सार्वजनिक उपस्थितिमा ल्याउन माग भइरहेका बेला उनले पहिलोपटक सार्वजनिक कार्यक्रमका रूपमा सेनाको मुख्यालयमा बैठकमा सहभागी भएका हुन्। राजनीतिक अस्थिरता र नयाँ विकल्पबारे छलफल गर्न शीर्ष नेताहरूले यो भेटलाई ऐतिहासिक अवसरका रूपमा लिएका छन्।

बैठक सुरु हुनुअघि पूर्वप्रधान न्यायाधीश सुशीला कार्की र सेनाप्रमुख सिग्देलबीच करिब एक घण्टा लामो प्राथमिक छलफल भएको स्रोतको दाबी छ। त्यसपछि राष्ट्रपति पौडेल पनि उपस्थित भएपछि त्रिपक्षीय वार्ता औपचारिक रूपमा अघि बढेको हो।

उच्च स्रोतका अनुसार, सरकारले आगामी बाटो तय गर्ने विषयमा यो बैठक मुख्य मोड बन्ने देखिन्छ। विशेषतः अन्तरिम सरकार गठनबारे प्रष्ट निष्कर्ष निकाल्ने तयारी भएको बताइएको छ। यसअघि विभिन्न राजनीतिक समूहहरूले संविधानिक स्थायित्व कायम गर्न अस्थायी सरकारको नेतृत्व कसले गर्ने भन्नेमा बहस चलाइरहेका थिए।

जेनजी समूहका नेताहरूले केही दिनअघि आन्तरिक छलफल गर्दै अन्तरिम सरकार प्रमुखका रूपमा पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नाम अघि सारेका थिए। समूहको भर्च्युअल बैठकमा सहभागी अधिकांश सदस्यहरूले कार्कीलाई पहिलो रोजाइ बनाएका कारण अन्ततः उनको नाममा सहमति जुटेको हो। त्यसपछि बुधबार बेलुका जेनजी प्रतिनिधिहरूले आफ्ना एजेन्डा तय गरी सेनाप्रमुख सिग्देलसँग साझा गरेका थिए।

त्यसै प्रक्रियामा कार्कीलाई प्रस्तावित जिम्मेवारीबारे जानकारी गराइएपछि उनले नेतृत्व लिन सकारात्मक संकेत दिएकी थिइन्। आजको वार्ताले त्यसलाई औपचारिक रूप दिने अपेक्षा गरिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, राष्ट्रपतिले समन्वयकारी भूमिका खेल्ने, सेनाले सुरक्षा पक्ष सुदृढ गर्ने र कार्कीले नेतृत्व लिने खाकामा छलफल भइरहेको छ। तर अन्तिम सहमति अझै नजुटेको र छलफल अझै जारी रहेको जनाइएको छ।

बैठकबारे आधिकारिक विवरण सार्वजनिक नभए पनि शीर्ष तहका स्रोतहरूले यो वार्ता मुलुकको राजनीतिक भविष्य तय गर्ने निर्णायक मोड बन्ने विश्वास व्यक्त गरेका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार