अचानक मन्त्रिपरिषद् बैठक! ओलीको कदमले राजनीतिमा तरंग

अचानक मन्त्रिपरिषद् बैठक! ओलीको कदमले राजनीतिमा तरंग

लोक आवाज,
काठमाडौँ, भदौ २३ । राजधानी नयाँ बानेश्वरमा दुई प्रदर्शनकारीको मृत्यु भएपछि मुलुकको राजनीतिक तापक्रम उच्च छ। यस्तो संवेदनशील घडीमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बैठकको पृष्ठभूमिमा देशभर फैलिएको जेनजी आन्दोलन, प्रहरी बल प्रयोग र मृत्युसम्म पुगेको स्थिति रहेका छन्।

जनदबाब चुलिँदै, सरकार दबाबमा

देशभरका युवाहरूले आज सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको नियमन प्रयासको विरोधमा एकजुट प्रदर्शन गरेका थिए। राजधानीमा भएको प्रदर्शन प्रहरी बल प्रयोगका कारण हिंसात्मक मोडमा पुग्दा नयाँ बानेश्वरमा दुई प्रदर्शनकारीको ज्यान गएको पुष्टि भएको छ। यस घटनाले जनआक्रोश झनै तीव्र बनाएको छ। सडकमा उत्रिएका हजारौँ युवाको आवाजसँग अब सरकार कस्तो ढंगले प्रस्तुत हुन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।

बैठकप्रति अर्थपूर्ण दृष्टि

सरकारका एक मन्त्रीले संकेत गरेअनुसार, आजको मन्त्रिपरिषद् बैठकमा नयाँ बानेश्वर घटनाको अनुसन्धान, घाइतेहरूको उपचार व्यवस्था, र सरकारी धारणा स्पष्ट पार्ने रणनीतिबारे गम्भीर छलफल हुने अपेक्षा गरिएको छ। साथै, आन्दोलनको नियन्त्रण वा संवादमार्फत समाधान खोज्ने रणनीतिमाथि पनि उच्च तहमा विचार–विमर्श हुने संकेत दिइएको छ।

सरकार नरम हुन्छ कि कडा?

जेनजी आन्दोलनको दबाबबीच ओली नेतृत्वको सरकार अब नरम रणनीति अपनाउने कि कठोर उपायमा जानेरु — यो कुरा आजको मन्त्रिपरिषद् बैठकपछि स्पष्ट हुने देखिन्छ। यसबीच, आम नागरिक र राजनीतिक विश्लेषकहरू सरकारसँग उत्तरदायित्व, संवेदनशीलता र संवादमुखी नीतिको अपेक्षा गरिरहेका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार