धनुषामा फेरि बज्ने सर्प संस्कृतिको संगी — तेस्रो सर्प महोत्सव तयारीमा

धनुषामा फेरि बज्ने सर्प संस्कृतिको संगी — तेस्रो सर्प महोत्सव तयारीमा

लोक आवाज,
जनकपुरधाम, भदौ २३ । सर्पप्रति डर होइन, समझदारी र सहअस्तित्वको भावना फैलाउने उद्देश्यले आयोजना हुँदै आएको नेपाल सर्प महोत्सव अब मधेस प्रदेशमा प्रवेश गर्दैछ। महोत्सवको तेस्रो संस्करण यसपटक धनुषाको मिथिला विहारी नगरपालिकामा आयोजना हुने भएको छ।

सेभ द लाइभ सोसाइटी र मिथिला वाइल्ड लाइफ ट्रस्टको संयुक्त आयोजनामा असोज २ र ३ गते हुने महोत्सवबारे जानकारी सोमबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो।

सांस्कृतिक र वैज्ञानिक दृष्टिकोणको समायोजन

महोत्सवमा सर्पसँग सम्बन्धित जनचेतनामूलक डकुमेन्ट्री, फोटो प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, सर्प उद्धारको प्रत्यक्ष अभ्यास, सर्प संग्रहालयको नमुना, साथै हर्पिङ सर्प तथा उभयचर अवलोकन लगायतका गतिविधि समावेश हुने आयोजकहरूले जनाएका छन्। नेचर वाक जस्ता कार्यक्रममार्फत सहभागीहरूलाई प्रकृति र जैविक विविधतासँग प्रत्यक्ष रुपमा जोड्ने प्रयास गरिनेछ।

सर्पदंशबाट बच्ने व्यावहारिक ज्ञानको कक्षा

मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलका अनुसार, “अज्ञानताकै कारण सर्पदंशबाट अनावश्यक ज्यान गुमाउने क्रम अझै रोकिएको छैन। महोत्सवमार्फत सर्पदंशपछि के गर्ने, कसरी प्राथमिक उपचार गर्ने, कुन सर्प विषालु हुन्छ र कुन होइन भन्ने व्यावहारिक ज्ञान विस्तार गर्नेछौं।”

पहिलोपटक मधेस प्रदेशमा

नेपाल सर्प महोत्सवको पहिला संस्करण नवलपुरको कावासोती र दोस्रो संस्करण रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सम्पन्न भइसकेका छन्। यो संस्करण भने पहिलोपटक मधेस प्रदेशमा हुन लागेको हो, जसले सर्प–मानव सहअस्तित्व, जैविक विविधताको संरक्षण र क्षेत्रीय सहभागितालाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार