लोक आवाज,
पर्सा, भदौ २३ । सोमबार जेनजी पुस्ताले सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको नियमनको प्रयासविरुद्ध देशव्यापी प्रदर्शन गरेका छन्। वीरगन्जमा स्वतःस्फूर्त रूपमा जुटेका युवाहरूले शान्तिपूर्ण तर जबरजस्त आवाजमा सरकारलाई जवाफदेही बनाउन माग गरेका छन्।
प्रदर्शनकारी युवाहरूले भ्रष्टाचारको अन्त्य, सरकारी पारदर्शिता र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन जोड दिएका थिए। उनीहरूले “भविष्य बेच्न पाइँदैन”, “हामी डराउँदैनौं”, र “सञ्चारमाथि नियन्त्रण होइन, सुधार चाहिन्छ” लगायतका नाराहरू लगाएर आफ्नो माग राखेका थिए। एक सहभागीले भने, “हामी सरकारविरुद्ध होइनौं, तर बेथिति र भ्रष्टाचारविरुद्ध हौं। स्वस्थ प्रणालीको लागि हामी आवाज उठाइरहेका छौं।” सामाजिक सञ्जालमा सरकारले नियमन गर्ने योजना प्रति युवा पुस्ता निकै आक्रोशित देखिएको छ। उनीहरूले यसलाई अभिव्यक्तिको स्वतन्त्रतामाथिको ठूलो हस्तक्षेपको रूपमा लिएका छन्।
यो आन्दोलन कुनै राजनीतिक पार्टीको नेतृत्वमा नभएर युवाहरूको स्वतन्त्र र स्वतःस्फूर्त अभियान हो। टिकटक, इन्स्टाग्राम र फेसबुकजस्ता सामाजिक सञ्जाल माध्यमबाट एकजुट भएर सडकमा उत्रिएका यी युवाहरूले देशभरि एकजुट जनदबाबको सन्देश दिएका छन्। वीरगन्जमा भएको यो प्रदर्शनले स्पष्ट पारेको छ कि यो लहर मात्र केन्द्रिय शहरको सीमामा सीमित नभई देशका हरेक कुनामा फैलिन थालेको छ।



प्रतिक्रिया !