धनुषामा लागुऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ

धनुषामा लागुऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ

लोक आवाज,
जनकपुरधाम, भदौ २२ । धनुषाको विदेह नगरपालिका–१ ठाढीबाट प्रहरीले ठूलो मात्रामा लागुऔषध ब्राउन सुगरसहित पाँच जना युवकलाई पक्राउ गरेको छ। आइतबार साँझ प्रहरीले गरेको विशेष चेकजाँच अभियानमा उनीहरू नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–६ का ३१ वर्षीय दिनेश ऐन्जन, त्यहीँ नगरपालिका–१६ का २६ वर्षीय बिशाल कार्की, जनकपुरधाम उपमहानगरपालिका–४ का २२ वर्षीय सिर्द्धार्थ साह, धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनर्वाका २१ वर्षीय ललित यादव र सिरहा नगरपालिका–१६ माडरका २२ वर्षीय सिर्द्धार्थ मरबैता रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) बरुण बहादुर सिंहका अनुसार पक्राउ परेका युवकहरूको साथबाट १० ग्राम ब्राउन सुगर बरामद गरिएको छ। साथै उनीहरूले प्रयोग गर्दै आएका तीनवटा मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

डीएसपी सिंहले बताएअनुसार महिनाथपुर क्षेत्रमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचना पाएपछि प्रहरीको टोली सतर्क बनाइएको थियो। सोही क्रममा ठाढी क्षेत्रमा चेकजाँच तीव्र पारिएको र आइतबार बेलुका प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

लागुऔषध ब्राउन सुगर नेपालमा सर्वाधिक दुरुपयोग हुने घातक पदार्थमध्ये एक हो। यसले युवाहरूलाई लतमा पार्ने मात्र नभई सामाजिक अपराध, स्वास्थ्य समस्या र पारिवारिक विखण्डनका कारणसमेत बन्दै गएको प्रहरीको भनाइ छ। पछिल्ला वर्षहरूमा धनुषा, महोत्तरी, सिरहा लगायतका मधेश प्रदेशका जिल्लामा लागुऔषध कारोबार तथा प्रयोग तीव्र बन्दै गएको तथ्यांक प्रहरीले सार्वजनिक गर्दै आएको छ।

प्रहरीले नियन्त्रणमा लिएका पाँचै जनालाई इलाका प्रहरी कार्यालय खजुरीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ। उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा चलाइने तयारी भइरहेको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दाले महिनाथपुर र आसपासका क्षेत्रमा लामो समयदेखि लागुऔषधको अवैध कारोबार हुने गरेको भन्दै प्रहरीलाई सतर्कता बढाउन माग गर्दै आएका थिए। प्रहरीले पछिल्ला दिनमा निगरानी तथा चेकजाँचलाई कडाइ गर्दै ल्याएको भए पनि ठूलो मात्रामा कारोबार हुने गरेको गुनासो स्थानीयवासीले गर्दै आएका छन्।

प्रहरीले लागुऔषध नियन्त्रणका लागि निरन्तर अभियान सञ्चालन गर्दै आएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार