मधेशीलाई मधेशमै अल्पसंख्यक बनाउने प्रयास: ठाकुरले भूमि ऐनको विरोधमा आवाज उठाए

मधेशीलाई मधेशमै अल्पसंख्यक बनाउने प्रयास: ठाकुरले भूमि ऐनको विरोधमा आवाज उठाए

लोक आवाज,
जनकपुरधाम, भदौ १८ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले भूमि ऐनमार्फत मधेशीलाई मधेशमै अल्पसंख्यक बनाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्। संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान अन्तर्गत आयोजित कार्यक्रममा बोल्दै ठाकुरले “मधेशीको जन्म नै संघर्ष गर्नका लागि भएको हो, भूमि ऐनले फेरि लड्न बाध्य बनाएको छ” भन्ने चेतावनी दिए। कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि ऐनलाई तराई मधेशको उब्जाउ भूमिलाई मरुभूमि बनाउने प्रयासको रूपमा व्याख्या गर्दै शासक वर्गले पाँच चरणमा भूमि कब्जा गर्ने रणनीति अपनाएको आरोप लगाए —

वक्सिस, बिर्ता, जागिरको रूपमा वितरण

हदबन्दीको नाममा खोस्ने

पुनर्वास कम्पनीमार्फत वन विनाश गरी विदेशीलाई बाँड्ने

सुकुम्बासीको नाममा कार्यकर्तालाई वितरण

भूमि ऐनमार्फत कानुनी रूपमा कब्जा गर्ने

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मधेशी मात्र एक भएर नपुग्ने भन्दै आदिवासी जनजातीसहित सबै उत्पीडित समुदायहरू एकजुट हुनुपर्ने धारणा राखे। उनले कांग्रेस र एमालेले दशकौंदेखि देश लुटेको, जनतालाई कंगाल बनाएको, र पूर्वी सभ्यता मेटाएर विदेशी संस्कृति लाद्न खोजिएको आरोप लगाए। कार्यक्रममा सहभागी नेताहरूले भूमि ऐनलाई आन्तरिक उपनिवेशीकरणको औजार भन्दै संघर्षको आह्वान गरेका छन्। मोर्चाले देशभर जनजागरण अभियान सञ्चालन गर्ने योजना बनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार