लोक आवाज,
काठमाडौँ, भदौ १८ । नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ माथि राष्ट्रिय सभाबाट आएको संशोधन प्रस्तावलाई प्रतिनिधि सभाले बहुमतले स्वीकृत गरेको छ। बुधबार बसेको बैठकमा गृहमन्त्री रमेश लेखकले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
छलफलमा सहभागी सांसदहरूले विधेयकले नागरिकता प्राप्तिमा देखिएका कानुनी अप्ठ्याराहरू अन्त्य गर्ने विश्वास व्यक्त गरे। विशेषतः आमाको नामबाट नागरिकता दिने व्यवस्थाले बाबुको असहयोग वा पहिचान नभएका सन्तानहरूलाई राहत दिने अपेक्षा गरिएको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विधेयकलाई महिलाको सम्मानसँग जोड्दै समर्थन गरे। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि विधेयकले संविधानमा उल्लेखित तर व्यवहारमा लागू नभएका अधिकारहरूलाई सुनिश्चित गर्ने बताए।
विधेयकमा बालबालिकालाई परिचयपत्र दिने व्यवस्था पनि समावेश गरिएको छ, जसले पहिचान र पहुँचको अधिकारलाई संस्थागत गर्ने अपेक्षा गरिएको छ। सरकारले नागरिकता ऐन संशोधनमार्फत आमाको नामबाट नागरिकता दिने व्यवस्था गर्न विधेयक ल्याएको हो। विधेयक पारित भएसँगै अब बाबुको असहयोग वा पहिचान अभावमा रहेका नागरिकहरूलाई आमाको नामबाट नागरिकता प्राप्त हुने बाटो खुलेको छद्द।




प्रतिक्रिया !