लोक आवाज,
पर्सा, भदौ १८ । खानेपानी मन्त्री प्रदीप यादवसँग चर्को स्वरमा बोलेको आरोपमा पक्राउ परेकी किरण साह अहिले पर्सा प्रहरीको हिरासतमा छिन्। ग्यास्ट्रिकको समस्या देखिएपछि नारायणी अस्पतालमा उपचार गराइएपछि पुनः हिरासतमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्सालले जानकारी दिए।
किरण साहले अस्पतालबाट फर्किने क्रममा दिएको बयानमा मन्त्री यादवसँग पुरानो चिनजान रहेको बताउँदै, हैजा संक्रमणको समस्या सुनाउन सहयोगको आशाले फोन गरेको स्पष्ट पारिन्। “मन्त्रीज्यू हाम्रो अभिभावक भएकाले फोन गरेकी थिएँ, तर त्यही फोनले मलाई थुनामा पुर्यायो,” उनले भनिन्। उनका अनुसार परिवारमा हैजाको संक्रमण फैलिएको, सानी छोरीको अवस्था गम्भीर भएको, र अस्पतालमा बेड नपाउँदा नेसनल मेडिकल कलेजमा भर्ना गर्नुपरेको थियो। बारम्बार फोन गर्दा पनि मन्त्रीले प्रतिक्रिया नदिएको भन्दै उनले आक्रोश पोखेको अडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन्।
मन्त्रीको स्वकीय अधिकृत हरिन्द्र साहको जाहेरीका आधारमा किरणविरुद्ध तीनवटा मुद्दा दर्ता गरिएको छ —
विद्युतीय कारोबारसम्बन्धी अपराध
संघीय सांसदलाई ज्यान मार्ने धम्की
झुटा अफवाह फैलाएको कसुर
किरण साहले “पावरको दुरुपयोग गरेर हिरासतमा ल्याइयो, यो कहाँको न्याय हो” भन्दै आफ्नो पक्ष स्पष्ट पार्ने प्रयास गरेकी छन्।




प्रतिक्रिया !