सुनिल साह ,
जनकपुरधाम , 16 भदौ । मधेश प्रदेशमा शिक्षा ऐन विधेयकले ल्याउन खोजिएको ‘अन्यायपूर्ण प्रावधान’ को विरोधमा धनुषाको सहिदनगरमा निजी विद्यालय सञ्चालक, प्रधानाध्यापक तथा शिक्षक–कर्मचारीहरूले आज शान्तिपूर्ण र्याली निकालेका छन्।
सहिदनगर प्याब्सनको आयोजनामा गरिएको उक्त कार्यक्रममा जिल्लाका बरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष राज कुमार कर्मचायको नेतृत्वमा र्याली सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्याब्सनका स-सचिव बिमलेश के.पी, सदस्य वीरेन्द्र कुमार यादवसहित संस्थापक प्रिन्सिपल र शिक्षक वर्गको समेत उल्लेख्य सहभागिता रहेको थियो।
सहभागीहरूले सरकारले ल्याउन लागेको शिक्षा ऐनले निजी विद्यालयहरूको अस्तित्व नै संकटमा पार्ने खतरा भएको भन्दै विरोध जनाए। उनीहरूको भनाइमा गैर–नाफामूलक कम्पनीको व्यवस्था र पूर्ण छात्रवृत्ति दिने प्रावधान व्यवहारिक नभएकोले यसलाई तुरुन्त सच्याउनुपर्ने आवश्यक छ।
र्यालीमा सहभागीहरूले “निजी विद्यालयको श्रम र योगदानलाई सम्मान गर”, “१०% छात्रवृत्ति कायम गर”, “पूर्ण छात्रवृत्ति लाद्न पाइँदैन” लगायतका नारासहित प्रदर्शन गरेका थिए। उनीहरूले निजी विद्यालयहरूले लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र राज्यले आवश्यक शैक्षिक पूर्वाधार अभावमा उनीहरूको योगदानलाई सम्मान गर्नुपर्ने तर्क गरे।
सहभागीहरूले सरकारसँग विद्यार्थीहरूको भविष्यलाई मध्यनजर राखी शिक्षा ऐनमा रहेका अन्यायपूर्ण प्रावधान सच्याउन माग गरे। उनीहरूले माग पुरा नभएमा आगामी दिनमा थप संघर्षका कार्यक्रम अघि सारिने चेतावनी पनि दिए।
सहिदनगरमा सम्पन्न यस र्यालीले मधेश प्रदेशका अन्य जिल्लामा पनि निजी विद्यालयहरूबीच असन्तोष बढिरहेको प्रष्ट भएको छ। शिक्षा क्षेत्रमा सरकारले ल्याउन लागेको नीतिले अझै विवाद र आन्दोलन निम्त्याउने संकेत देखिएको छ।




प्रतिक्रिया !