सुनिल साह ,
जनकपुरधाम, १५ भदौ । परिवर्तनशील सार्वजनिक शिक्षा प्रणालीबारे अनुभव आदान–प्रदान र आगामी सुधारका सम्भावनालाई केन्द्रीत गर्दै जनकपुरधाममा सरोकारवालासँग संवाद सत्र सम्पन्न भएको छ। ट्याक्सएड एल्लायन्सको आयोजनामा भदौ १४ गते जनकपुरधामस्थित सिता शरण होटलमा शुक्रबार आयोजित कार्यक्रममा शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, कर्मचारी, पत्रकारसहित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष सोमनाथ गिरीले गर्नुभएको थियो। उहाँले सार्वजनिक शिक्षाको सुधारका लागि स्थानीय तहदेखि संघीय सरकारसम्म सबै तहको ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिनुभयो। गिरीले भन्नुभयो, “गुणस्तरीय शिक्षा सर्वसुलभ बनाउन शिक्षक, विद्यार्थी, अभिभावक र नीति निर्माताबीच समन्वय अनिवार्य छ। शिक्षा सुधार केवल कानुनी प्रावधानले होइन, व्यवहारिक कार्यान्वयनले मात्र सम्भव हुन्छ।”
कार्यक्रममा राष्ट्रिय शिक्षक संघ धनुषाका अध्यक्ष, महोत्तरी जिल्ला अध्यक्ष लगायतका पदाधिकारीहरुले आफ्ना अनुभव र सुझाव प्रस्तुत गरे। उनीहरुले शिक्षामा देखिएका चुनौतीहरूलाई समाधान गर्न दीर्घकालीन रणनीति आवश्यक रहेको बताउँदै, स्थानीय तहमा पर्याप्त स्रोत–साधन सुनिश्चित नगरी सुधारको सपना अधुरै रहनेतर्फ ध्यानाकर्षण गराए।
त्यस्तै, विभिन्न पालिकाका जनप्रतिनिधिहरुले पनि आफ्नो धारणा राख्दै सार्वजनिक शिक्षामा लगानीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। उनीहरुले विद्यालयस्तरमै नवीनतम पद्धति र प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागी शिक्षक तथा शिक्षिकाहरुले विद्यालयको वास्तविक अवस्था, विद्यार्थीको शैक्षिक स्तर र स्रोतसाधनको उपयोगिताबारे अनुभव सुनाए। उनीहरुले शिक्षामा सरोकारवालाको सक्रिय सहकार्यबिना सुधार सम्भव नहुने जनाउँदै, सरकारी नीति र स्थानीय कार्यान्वयनबीच देखिएको खाडल न्यून गर्न आग्रह गरे। उनीहरुले सिकाइलाई बढी प्रभावकारी बनाउन व्यवहारिक शिक्षा, डिजिटल प्रविधि र सह–शैक्षिक क्रियाकलापलाई विद्यालयमा प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले सामाजिक उत्तरदायित्वका हिसाबले शिक्षा क्षेत्रमा सबै पक्षको साझेदारी आवश्यक रहेको बताए। उनीहरुले शिक्षा गुणस्तरको प्रश्नलाई केवल शिक्षक वा विद्यालयसँग मात्र नभई व्यापक सामाजिक सरोकारको रूपमा लिनुपर्नेमा जोड दिए।
संवाद सत्रको निष्कर्षमा सहभागी सरोकारवालाले सार्वजनिक शिक्षाको सुधार र रूपान्तरणलाई साझा अभियानका रूपमा अघि बढाउनुपर्ने धारणा एकमतले राखे। उनीहरुको भनाइमा, शिक्षा सुधारका पहललाई निरन्तरता दिन सकेमा मात्र भविष्यको पुस्तालाई सक्षम र उत्तरदायी नागरिकका रूपमा तयार गर्न सकिन्छ।




प्रतिक्रिया !