लोक आवाज,
पर्सा, भदौ १४ । पर्सा जिल्लामा हैजा र झाडापखालाका संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएको छ। शनिबार बिहान ७ बजेसम्मको अपडेटमा स्वास्थ्य कार्यालय, पर्साले ७१२ संक्रमितको विवरण सार्वजनिक गरेको छ। यसमा ३३ जना आईसीयूमा, ४ जना एचडीयूमा र १५८ जना सामान्य वार्डमा उपचाररत छन्।
यस्तै, ५१७ जना संक्रमित उपचारपछि निको भई घर फर्किएका छन् भने १९५ जना अझै अस्पतालमा उपचार भइरहेका छन्। हैजा सम्बन्धी परीक्षणमा १६२ पोजिटिभ केस रिपोर्ट भएका छन्, जसमा १०१ जना डिस्चार्ज भएका छन् भने ६२ जना अझै उपचारमा छन्। २८ साउनदेखि तराई अस्पतालमा झाडापखालाका केस देखिन थालेका थिए। ५ भदौमा पहिलो हैजाको केस पुष्टि भएपछि संघीय सरकार, प्रदेश सरकार, र स्थानीय तहसँग मिलेर जनचेतनामूलक अभियान शुरू गरिएको छ। यस अन्तर्गत रेडियो संदेश, र्याली, माइकिङ र घरदैलो कार्यक्रमहरू चलाइएका छन्।
स्वास्थ्य कार्यालयका प्रमुख विनोद झाले नागरिकलाई सफा पानी पिउन, पकाएको खाना मात्र खान र व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरेका छन्। साथै, संक्रमित भएका लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा तत्काल सम्पर्क गर्न पनि उनले सबैलाई चेतावनी दिएका छन्।




प्रतिक्रिया !