लोक आवाज,
जनकपुरधाम, भदौ १३ । मधेस प्रदेशका विभिन्न जिल्लामा हैजा संक्रमण झनै फैलिँदै गएको छ। पछिल्लो २४ घण्टामा मात्र ८४ जना नयाँ संक्रमितहरू थपिएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाकाका अनुसार पर्सा र आसपासका जिल्लामा हैजाका नयाँ केसहरू देखा परेको हो।
हाल मधेस प्रदेशमा सक्रिय संक्रमितको संख्या १८७ पुगिसकेको छ। यस वर्षको अगस्ट ९ यता कुल ६२४ जनामा हैजा संक्रमण पुष्टि भएको छ भने ४३७ जना निको भएर घर फर्किसकेका छन्। नारायणी अस्पतालमा अहिले ६८ जना संक्रमित उपचाररत छन्, जसमा २४ घण्टामा ५२ जना नयाँ बिरामी भर्ना भएका छन्। तराई अस्पतालमा ३९ र वीरगन्ज हेल्थकेयर अस्पतालमा १९ जना संक्रमितहरूको उपचार भइरहेको छ। त्यस्तै, एडभान्स अस्पताल र नेसनल मेडिकल कलेजजस्ता अन्य अस्पतालहरूमा पनि हैजा संक्रमितहरूको संख्या बढ्दै गएको चिकित्सकहरूले बताएका छन्। बारामा पनि पहिलो पटक हैजाको केस फेला परेको छ। संक्रमित कलैया अस्पतालमा उपचाररत छन् र त्यस क्षेत्रमा रोगको स्रोत पहिचानका लागि अध्ययन सुरु गरिएको छ।
संक्रमण रोकथामका लागि वीरगन्ज महानगरपालिकाले ग्रामीण क्षेत्रका नालीहरूमा क्लोरिन पाउडर छर्कने अभियान चलाएको छ। स्थानीय प्रशासन र स्वास्थ्य अधिकारीहरू मिलेर हैजा नियन्त्रणमा जुटेका छन्।



प्रतिक्रिया !