मधेश प्रदेशसभामा अवरोध कायमै, अर्थमन्त्रीमाथि चर्को असन्तुष्टि

मधेश प्रदेशसभामा अवरोध कायमै, अर्थमन्त्रीमाथि चर्को असन्तुष्टि

लोक आवाज,
जनकपुरधाम, भदौ १३ । आर्थिक वर्ष २०८२ र ८३ को बजेटलाई लिएर चुलिएको विवादले मधेश प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। विपक्षी दलहरूले अर्थमन्त्री सुनिल कुमार यादवको राजीनामा माग गर्दै सदन अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका हुन्।

प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्र का प्रमुख सचेतक जवाहरलाल कुशवाहाले अर्थमन्त्रीले ल्याएको बजेट अपारदर्शी, बिचौलियाको प्रभावमा बनेको र त्रुटिपूर्ण भएको आरोप लगाउँदै राजीनामा माग गरेका छन्। “अर्थमन्त्री पदमा रहँदासम्म सदन चल्न सक्दैन,” उनले चेतावनी दिए। यता सत्ता पक्षीय नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले विपक्षीहरू सदनमा मात्र होइन, सर्वदलीय बैठकमा पनि अनुपस्थित रहँदै असहयोगी भूमिका खेलिरहेको आरोप लगाए। “सदनमा रगरा गर्ने शैली स्वीकार्य हुँदैन,” उनले भने।

विरोधमा उत्रिएका दलहरू — जसपा नेपाल, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी, राप्रपा नेपाल र नागरिक उन्मुक्ति पार्टी — ले छैठौँ अधिवेशन सुरु भएदेखि नै सदन अवरुद्ध गर्दै आएका छन्। बजेट बहुमतले पास भए पनि विपक्षीहरूले त्यसलाई अस्वीकार गरेका छन्। उनीहरूले बजेट निर्माणमा व्यापक बिचौलिया हाबी भएको, पारदर्शिता नदेखिएको र सभामुख स्वयं तटस्थ नदेखिएको आरोप लगाएका छन्। दुई दिनदेखि सर्वदलीय बैठकसमेत बहिष्कार गर्दै आएका विपक्षी दलहरूले अब सरकारको कदम नफर्किएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार