लोक आवाज,
जनकपुरधाम, भदौ १२ । मधेश प्रदेशसभाको छैठौं अधिवेशनको पहिलो बैठक विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ। आर्थिक वर्ष २०७८ र ७९ को बजेट प्रक्रिया असंवैधानिक भएको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी जसपा नेपालसहित पाँच दलले सदन अवरुद्ध गरेका हुन्।
जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले अर्थमन्त्री सुनिलकुमार यादवको राजीनामा माग्दै भने, “संसदलाई छलेर विना प्रतिपक्षी बजेट पास भयो, यस्तो परम्परा संसारभर कतै देखिन्न।” उनका अनुसार ४६१ पृष्ठको बजेटमा पछि थप २९४ पृष्ठ समावेश गरी प्रतिपक्षको बहिष्कारबीच पारित गरिएको बजेटले संसदीय मर्यादा उल्लंघन गरेको छ।
सदनमा बहस हुन नसकेपछि सभामुख रामचन्द्र मण्डलले बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन्।सदन अवरुद्ध गर्ने विपक्षी दलहरूमा जसपा नेपालसहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी र राप्रपा सहभागी छन्। उनीहरूले सभामुखद्वारा आह्वान गरिएको सर्वदलीय बैठक पनि बहिष्कार गरेका थिए। आजको कार्यसूचीमा शुभकामना मन्तव्यका साथै महालेखापरीक्षकको छैटौं र सातौं प्रतिवेदन तथा विषयगत समितिका वार्षिक प्रतिवेदनहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो।




प्रतिक्रिया !