लोक आवाज,
काठमाडौँ, भदौ ११ । माइतीघर मण्डलामा उखु किसानहरूले अनुदानको माग गर्दै जारी राखेको धर्ना चौथो दिनमा प्रवेश गरेको छ। आर्थिक वर्ष २०७८ र ७९ र २०७९ र ८० को बाँकी अनुदान भुक्तानी नपाएको भन्दै किसानहरूले राजधानीमा दबाबमूलक कार्यक्रम सञ्चालन गरिरहेका छन्।
उखु उत्पादक महासंघको नेतृत्वमा १३ जिल्लाबाट आएका किसानहरू सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ तोकेको अनुदान हालसम्म नपाएकोमा असन्तुष्ट छन्। बुधबार उनीहरूको मागप्रति समर्थन जनाउँदै विभिन्न राजनीतिक दलका नेताहरू धर्नास्थल पुगेका थिए। सत्तारुढ नेपाली कांग्रेसका नेता एनपी साउद, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र का गिरिराजमणि पोखरेल र बिना मगर तथा मधेसवादी दलका नेताहरूले किसानको आवाजलाई साथ दिँदै तत्काल अनुदान भुक्तानी गर्न सरकारसँग माग गरेका छन्। नेताहरूले किसानलाई निराश पार्नु नहुने र सरकारले गम्भीर भएर समस्या समाधान गर्नुपर्ने बताएका छन्।
धर्नास्थलमा किसानहरूले सरकारसँग लिखित सहमति र रकम जारी नभएसम्म आन्दोलन जारी राख्ने बताउँदै आएका छन्। नेताहरूको उपस्थितिले यो आन्दोलनलाई थप राजनीतिक पहिचान मिलेको छ भने सडकमा किसान र नेताहरूको संयुक्त दबाब बढ्दै गएको छ।




प्रतिक्रिया !