वीरगञ्जमा हैजा फैलावट रोक्न चुनौती, २२० जनाको उपचार जारी

वीरगञ्जमा हैजा फैलावट रोक्न चुनौती, २२० जनाको उपचार जारी

लोक आवाज,
पर्सा, भदौ १० । वीरगञ्जमा हैजा र झाडापखलाबाट प्रभावित बिरामीहरूको संख्या उच्च देखिए पनि उपचारपछि निको भएर डिस्चार्ज हुनेहरूको संख्या क्रमशः बढ्दै गएको छ। वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले मंगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार हालसम्म १७१ जना बिरामीहरू उपचारपछि घर फर्किसकेका छन्। तर, झाडापखला र हैजाबाट अझै २२० जना बिरामी विभिन्न अस्पतालहरूमा उपचाररत छन्।

शुक्रबारदेखि अहिलेसम्म वीरगञ्जका १३ भन्दा बढी अस्पतालहरूमा ३९१ जना बिरामी भर्ना भएका छन्। सबैभन्दा बढी बिरामी नारायणी अस्पतालमा उपचाररत छन् भने तराई अस्पताल, नेसनल मेडिकल कलेज, वीरगञ्ज हेल्थ केयर लगायतका अस्पतालहरूमा पनि बिरामीहरूको उपचार भइरहेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख जयमोद ठाकुरका अनुसार नारायणी अस्पतालमा १०६ जना बिरामी उपचाररत छन्। तराई अस्पतालमा ३३, नेसनल मेडिकल कलेजमा ३१, वीरगञ्ज हेल्थ केयरमा २०, सर्वोत्तम अस्पतालमा ९ र एडभान्स अस्पतालमा ६ जना उपचाररत छन्।

मंगलबार बिहानसम्म ९५ नयाँ बिरामीमा हैजाको संक्रमण पुष्टि भएको छ। नारायणी र तराई अस्पतालमा समान रूपमा ३२–३२ जना बिरामी भेटिएका छन् भने नेसनल मेडिकल कलेजमा १३ जना नयाँ संक्रमित छन्। गम्भीर अवस्थामा रहेका बिरामीहरूलाई आईसीयू र एचडीसीयूमा राखेर विशेष उपचार प्रदान भइरहेको छ। हाल २४ जना आईसीयूमा र ६ जना एचडीसीयूमा छन्। वीरगञ्ज हेल्थ केयर र तराई अस्पतालमा गम्भीर बिरामीहरूको संख्या बढी छ।

स्वास्थ्य मन्त्रालय र वीरगञ्ज महानगरपालिकाले संक्रमण फैलिन नदिन २६ वटा टोली परिचालन गरी सरसफाइ, स्वच्छ खानेपानी, र जनचेतना कार्यक्रम तीव्र रुपमा सञ्चालन गरिरहेका छन्। स्वास्थ्यमन्त्रीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै उपचारमा कुनै कमी नआउने प्रतिबद्धता जनाएका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार