लोक आवाज,
काठमाडौँ, भदौ १० । सरकारले उखुमा दिँदै आएको अनुदान रकम आधा कटौती गरेपछि विरोधमा उत्रिएका किसानहरूले आज तेस्रो दिन पनि माइतीघर मण्डलामा प्रदर्शन जारी राखेका छन्।
उखु उत्पादक महासंघको अगुवाइमा भइरहेको आन्दोलनमा सहभागी किसानहरूले सरकारसँग पुरानै दर अनुसार प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान उपलब्ध गराउन माग दोहोर्याएका छन्। सरकारले बजेट अभाव देखाएर अनुदान घटाएर ३५ रुपैयाँमा सीमित गरेपछि किसानहरू आन्दोलित भएका हुन्। सोमबारको प्रदर्शनमा किसानहरू उखुकै बोट बोकेर राजधानीको सडकमा उत्रिएका थिए। उनीहरूले सरकारको निर्णय तत्काल फिर्ता लिन माग गर्दै विरोध जनाएका छन्।
सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीजस्ता तराई मधेसका जिल्लाबाट आएका किसानहरू आन्दोलनमा सक्रिय छन्। उनीहरूले सरकारी वाचा पालना नगरेको भन्दै दबाबमूलक आन्दोलनलाई निरन्तरता दिने चेतावनीसमेत दिएका छन्।




प्रतिक्रिया !