लोक आवाज,
रौतहट, भदौ ८ । गौर नगरपालिका–९, गौर–सिरसिया सडकखण्ड नजिक शनिबार राति साढे ९ बजे सडक किनारमा एउटा शंकास्पद सुटकेस भेटिएको थियो। प्रहरीले सुटकेस खोल्दा त्यसभित्र २६ वर्षीया रूबी कुमारी साहको शव भेटिएको छ। मृतक रूबी कुमारी माधव नारायण नगरपालिका–६ माधवपुरकी हुन् र चार वर्षदेखि रौतहटमै बस्दै आएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपी राजु कार्कीले मृतककी आमा र दाइले शवको सनाखत गरिसकेको बताए। मृतकको श्रीमान भारतको मुजफ्फरपुरमा बस्दै आएका छन् भने रूबी आफैं छोरा पढाउन गौर नगरपालिका–२ महादेवपट्टि बस्दै आएकी थिइन्। डिएसपी कार्कीका अनुसार, शव सुटकेसमा डोरी र सलले बाँधिएको अवस्थामा फेला परेको थियो। शवमा नाकमा रगतका धब्बा पनि देखिएका छन्। प्रारम्भिक अनुमानअनुसार, हत्या शुक्रबार दिउँसो भएको हुनसक्ने देखिन्छ। प्रहरीले घटनास्थलमा रातभर सुटकेस नखोली बिहान डिएसपी कार्कीको नेतृत्वमा टोली पुगेपछि मात्र खोलिएको थियो।
हत्या पुष्टि गर्न फरेन्सिक परीक्षण गर्न आवश्यक रहेको प्रहरीले जनाएको छ। शव पोस्टमर्टमका लागि अस्पताल पठाइएको छ भने घटनाको थप अनुसन्धान जारी छ। डिएसपी कार्कीले भने, “श्रीमान भेटिएका छन् र परिवारमा कुनै विवाद नभएको देखिन्छ। तर घटनाको पूर्ण सत्यतथ्य फरेन्सिक रिपोर्टपछि मात्र खुल्नेछ।”




प्रतिक्रिया !