लोक आवाज,
जनकपुरधाम, भदौ ८ । मधेस प्रदेशका १३६ स्थानीय तहमध्ये २५ पालिकामा कृषि तथा पशुपालन सेवामा सुधार ल्याउने उद्देश्यले अत्याधुनिक, भूकम्प प्रतिरोधात्मक उपचार केन्द्रहरूको निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ।
संघीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा झण्डै ७५ करोड रुपैयाँ लगानीमा ती भवनहरू निर्माण गरिरहेको हो। ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना ९च्भ्भ्म्० अन्तर्गत बर्दिबासस्थित आर्थिक करिडोर कार्यालयमार्फत यो योजना कार्यान्वयन भइरहेको छ।
आयोजना प्रमुख राजेश साहका अनुसार, एक(एक भवन निर्माणमा अनुमानित ३ देखि ५ करोड रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ। हालसम्म २५ पालिकामध्ये १४ वटामा भवन निर्माण सम्पन्न भइसकेको छ भने बाँकी ११ पालिकामा तीव्र गतिमा काम भइरहेको जनाइएको छ। नव निर्माणाधीन केन्द्रहरूमा माटो परीक्षण, पशु रोगको अनुसन्धान, गोबर तथा दूधजन्य वस्तुहरूको परीक्षण, र पशुपंक्षी रोग उपचारका लागि अत्याधुनिक प्रयोगशालाको व्यवस्था गरिनेछ। साथै, सुपथ मूल्यमा औषधि वितरणका लागि दुई सटरसहितको औषधि बिक्री कक्ष पनि रहनेछ।
सबै भवनहरू एकै ढाँचामा, प्रविधिमैत्री र स्थानीय आवश्यकता अनुरूप निर्माण गरिनेछन्। यसै क्रममा जनकपुरधाम उपमहानगरपालिका–१७ स्थित तेतरियामा निर्माण सम्पन्न केन्द्र जनकपुरधाम उपमहानगरका प्रमुख मनोजकुमार साहलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। उक्त भवन करिब २ करोड २५ लाख रुपैयाँमा निर्माण गरिएको हो। सरकारी अधिकारीहरूका अनुसार, यो पहलले मधेस प्रदेशमा पशुपालन र कृषि सेवा दुबैको गुणस्तरीय सुधारमा उल्लेखनीय योगदान पुर्याउनेछ।



प्रतिक्रिया !