लोक आवाज,
जनकपुरधाम, भदौ ८ । गौर हत्याकाण्डमा थप अनुसन्धानको आदेश दिएको सर्वोच्च अदालतको निर्णयको विरोधमा जनता समाजवादी पार्टी जसपा नेपालले आइतबार जनकपुरमा आक्रोशपूर्ण विरोध प्रदर्शन गरेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवसमेत मुछिएको सो मुद्दामा अदालतको कदमलाई जसपाले “राजनीतिक प्रेरित र पूर्वाग्रही” भन्दै अस्वीकार गरेको छ।
प्रदर्शनमा सहभागी कार्यकर्ताहरूले “राजनीतिक प्रतिशोध बन्द गर”, “उपेन्द्र यादवमाथिको षड्यन्त्र अस्वीकार्य छ” लगायतका नारा लगाउँदै सर्वोच्च अदालतको आदेशविरुद्ध आक्रोश प्रकट गरेका थिए। सन् २००७ वि.सं. २०६३ चैत ७ मा रौतहटको गौरमा भएको हिंसात्मक घटनामा केही व्यक्तिहरूको मृत्यु भएपछि त्यसबारे पुनः अनुसन्धान गर्न सर्वोच्च अदालतले दिएको निर्देशनलाई जसपाले लोकतान्त्रिक आन्दोलनमाथिको हमला भनेको छ।
जसपाका स्थानीय नेताहरूले सरकार र राज्य संयन्त्रमाथि गम्भीर आरोप लगाउँदै अदालतको निर्णय राजनीतिक दबाबमा आएको दाबी गरेका छन्। उनीहरूको भनाइमा, “यो कदम उपेन्द्र यादव र हाम्रो आन्दोलनलाई कमजोर पार्न नियोजित षड्यन्त्र हो।” पार्टीले यसअघि जारी गरेको विज्ञप्तिमा पनि मुद्दा पुनर्जीवनलाई नियोजित राजनीतिक आक्रमणको संज्ञा दिँदै देशभर आन्दोलन चर्काउने चेतावनी दिइसकेको छ। जनकपुरबाट सुरु भएको विरोध कार्यक्रम क्रमशः अन्य जिल्लाहरूमा पनि विस्तार गरिने बताइएको छ।




प्रतिक्रिया !