वीरगञ्जको हैजा संकट: गृहमन्त्रीले सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा रहन निर्देशन

वीरगञ्जको हैजा संकट: गृहमन्त्रीले सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा रहन निर्देशन

लोक आवाज,
पसौ, भदौ ८ । वीरगञ्जमा हैजाको संक्रमण तीव्र रुपमा फैलिन थालेपछि सरकार उच्च सतर्क अवस्थामा पुगेको छ। गृहमन्त्री रमेश लेखकले हैजा नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आवश्यक परे तुरुन्त परिचालन गर्न सकिने गरी तयारी अवस्थामा रहन कडा निर्देशन दिएका छन्।

आइतबार गृह मन्त्रालयमा सम्पन्न केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री लेखकले सुरक्षाकर्मीहरूलाई स्वास्थ्य टोलीसँग समन्वय गर्दै सक्रिय हुन आदेश दिएका हुन्। बैठकपछि गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले बताए अनुसार, चिकित्सकसहितको मेडिकल टोली परिचालनको तयारी गरिएको छ र सुरक्षा निकायहरू उच्च सतर्कतामा छन्। बैठकमा गृहसचिव गोकर्णमणि दुवाडीसहित सुरक्षासंस्थाका प्रमुख र प्रतिनिधिहरूको उपस्थिति थियो। बैठकले हैजा संकटसँगै मुलुकभरको समग्र शान्ति सुरक्षाको अवस्थाबारे समेत गहन समीक्षा गरेको छ।

प्रवक्ता काफ्लेले भने, “देशभर भइरहेका धर्ना, जुलुस, आन्दोलन र सम्भावित अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न प्रभावकारी रणनीति अपनाइनेछ। सुरक्षा संयन्त्र आवश्यक कदम चाल्न तयारी अवस्थामा छन्।” सरकारको सक्रियता सार्वजनिक स्वास्थ्य संकटसँगै सामाजिक स्थिरता कायम गर्नतर्फ लक्षित देखिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार