लोक आवाज,
काठमाडौँ, भदौ ८ । हाल मनसुनको न्यूनचापीय रेखा भारततर्फ सरकिए पनि नेपालमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव जारी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आइतबार देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ। विभागका अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। विशेष गरी बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ, जसले बाढी, पहिरो र जलजमजस्ता जोखिम निम्त्याउन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
त्यस्तै, मधेस, कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना पनि रहेको मौसमविद्हरूले बताएका छन्। पछिल्लो २४ घन्टामा काठमाडौंको बूढानीलकण्ठमा ६७.६ मि. मि, जाजरकोटमा ६२.६, रुकुमपश्चिमको मुसिकोटमा ५७.२ र दार्चुलामा ५२ मिलिमिटर वर्षा मापन गरिएको छ। विभागले स्थानिय तहमा आवश्यक सतर्कता र पूर्वतयारी गर्न आम सर्वसाधारण, यात्रु, कृषक तथा सरोकारवाला निकायलाई सुझाव दिएको छ।



प्रतिक्रिया !