जनकपुरमा मानसिक सन्तुलन र आत्मशुद्धिका लागि चार दिने तालिम

जनकपुरमा मानसिक सन्तुलन र आत्मशुद्धिका लागि चार दिने तालिम

लोक आवाज,
जनकपुरधाम, भदौ ८ । रोगमुक्त शरीर, तनावमुक्त मन र हिंसामुक्त समाज निर्माणको उद्देश्यसहित जनकपुरधाममा चार दिने ‘ह्यापिनेस कोर्स’ सफलतापूर्वक सम्पन्न भएको छ।

आर्ट अफ लिभिङ, जनकपुरधामको आयोजनामा भदौ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन गरिएको प्रशिक्षणमा सहभागीहरूलाई ध्यान, योग, प्राणायाम तथा सुदर्शन क्रियाका अभ्यासहरू प्रदान गरिएको हो। तालिम अन्तर्राष्ट्रिय प्रशिक्षक चन्देश्वर भाइया, मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता समेत रहेका प्रशिक्षक सुरेन्द्रकुमार महतो र प्रशिक्षक सुधीर ठाकुरले सञ्चालन गरेका थिए।

विभिन्न पेशा र पृष्ठभूमिबाट आएका ४५ जना सहभागीलाई शारीरिक र मानसिक सन्तुलनका लागि सेवा, साधना र आत्मअनुशासनमा आधारित अभ्यासहरू गराइएको कार्यक्रमका स्वयंसेवक ओमकुमार साहले जानकारी दिए। कार्यक्रमको समापनमा प्रादेशिक अस्पताल, गौरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मुरारी ठाकुरले मधेशमा साक्षरता दर कम रहेको उल्लेख गर्दै नैतिक मूल्यमा आधारित समाज निर्माण अपरिहार्य भएको बताए।

उनले आर्ट अफ लिभिङका संस्थापक श्री श्री रविशंकरको विचार उद्धृत गर्दै भने, “ध्यान, योग र प्राणायामबाट व्यक्ति सन्तुलित र सुखी बन्न सक्छ, जसले समाजमा शान्ति र अहिंसाको संस्कार ल्याउँछ।”

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार