लोक आवाज,
हेटौडा, भदौ ८ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोस्टमा आइतबार बिहान लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र रातोमाटे प्रहरी चौकीबाट खटिएको टोलीले पूर्व–पश्चिम राजमार्गमा नियमित जाँचका क्रममा भारतको सुमो गाडीमा ठूलो परिमाणमा लागुऔषध फेला पारेको हो। प्रहरीका अनुसार भारतीय नम्बर प्लेट (BR 01 PB 1802)रहेको सुमो गाडी रोकी चेकजाँच गर्दा डाइजेपामका ५,८५० एम्पुल र ट्रामाडोलका २४० क्याप्सुल फेला परेका छन्।
गाडीको पछाडिको भागमा कालो प्लास्टिकमा बेरिएको ३९ वटा पोकामा ती लागुऔषध लुकाइएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए। पक्राउ परेका व्यक्ति भारत उत्तर प्रदेश राज्यको बहराइच जिल्लास्थित बलाइ गाउँ निवासी ३५ वर्षीय किस्मत अली र २८ वर्षीय शाहरुख अली रहेका छन्।
हाल लागुऔषधसहित सवारीसाधन नियन्त्रणमा लिइएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया !