लोक आवाज,
काठमाडौँ भदौ, ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौर हत्याकाण्ड सम्बन्धी फाइल पुनः खोलेर सरकारले आफ्नो पार्टीमाथि मुद्दा लगाउने प्रयास गरिरहेको आरोप लगाएका छन्। पोखरामा आयोजित अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकी प्रदेशको कार्यक्रममा बोल्दै उनले यो षड्यन्त्रले माओवादी आन्दोलनलाई समाप्त पार्ने उद्देश्य राखेको बताए।
प्रचण्डले भने, “फाइलमा देखिने नामहरूमा उपेन्द्र यादव भए पनि वास्तविक निशाना माओवादीमाथि परेको छ। कांग्रेस र एमालेको लक्षित प्रहार हाम्रो पार्टीमाथि केन्द्रित छ। हामीलाई समाप्त पार्न खोज्नेहरूलाई असफल बनाउनेछौं।” उनले पार्टीका नेता तथा कार्यकर्तालाई सतर्क रहन र प्रतिकारका लागि तयार रहन पनि निर्देशन दिएका छन्। प्रचण्डले थपे, “कुलमानलाई हटाउने प्रयास झल्किए पनि वास्तविक निशाना माओवादी नै हो। जसको टाउकोमाथि मूल्य तोकिए पनि हामीलाई राज गर्न सक्ने छैनन्।”
गौर राइस मिलमा भएको घटनामा तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताले माओवादी सभामा आक्रमण गर्दा २७ जनाको मृत्यु भएको थियो। यस घटनाको अनुसन्धानका लागि सर्वोच्च अदालतले केही दिनअघि परमादेश जारी गरी तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष समेत रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान अघि बढाउने निर्णय गरेको छ।




प्रतिक्रिया !