लोक आवाज,
जनकपुरधाम,भदौ ७ । जनता समाजवादी पार्टी जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशवादी दलहरूबीच पुनः एकता हुने सम्भावना बलियो बन्दै गएको बताएका छन्। नेपालको राजनीति ‘जुट्ने र फुट्ने’ चक्रमा चल्ने विशेषता भएको उल्लेख गर्दै यादवले अहिले फेरि मधेश केन्द्रित दलहरू नजिकिँदै गएको संकेत गरेका हुन्।
“नेपालको राजनीति यस्तो छ जहाँ एकता र विघटन दुवै सँगसँगै भइरहन्छ। फुट पनि भइरहेको छ, जुट पनि। यो क्रम नै नेपालको राजनीतिक चरित्र हो,” यादवले भने, “अब फेरि मधेशवादी शक्तिहरू जुट्ने सम्भावना बढेको देखिन्छ।” हाल मधेश केन्द्रित दलहरू विभाजन हुँदै दर्जनौंको संख्यामा पुगेका छन्। पछिल्लो उदाहरणका रूपमा अनिलकुमार झाले नेपाल सद्भावना पार्टी पुनः गठन गरेका छन्।
यादवले राजनीतिक दलहरूबीचको विभाजन वैचारिक वा सैद्धान्तिक कारणभन्दा बढी कार्यनीतिमा आधारित हुने बताए। “फुट्ने, जुट्ने र फेरि फुट्ने प्रक्रिया नेपालको राजनीतिक दलहरूको प्रवृत्तिगत विशेषता हो,” उनले थपे। राजनीतिक स्थायित्व र मधेशको साझा एजेन्डालाई प्रभावकारी रूपमा उठाउन दलहरूबीच कार्यगत एकता आवश्यक भएको विश्लेषकहरू बताउँछन्।




प्रतिक्रिया !