लोक आवाज,
जनकपुरधाम ,भदौ ७ । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज कुशअम्बसीया पर्व वैदिक परम्परा र धार्मिक श्रद्धाका साथ मनाइँदैछ। यस पर्वमा बिहान ब्रह्ममुहुर्तमै वैदिक मन्त्र उच्चारण गर्दै पवित्र कुश उखालेर घरमा भित्र्याउने परम्परा रहेको छ, जसलाई वर्षभरि हुने शुभकार्य तथा पितृकार्यका लागि अनिवार्य मानिन्छ।
मिथिलाका पुरोहित र घरमूलीहरूले कुश सिउरी ९सजाउने० विधिपूर्वक पूजा आराधना गर्छन्। पवित्र कुशलाई विघ्ननाशक र पावन शक्तिको रूपमा लिइन्छ। यस पर्वलाई ‘बाबुको मुख हेर्ने दिन’ को रूपमा समेत चिनिन्छ, जसमा पितृहरूको स्मरण गर्दै तिनीहरूलाई श्राद्ध, नयाँ वस्त्र र परिकार अर्पण गर्ने परम्परा चलिआएको छ। कुशअम्बसीया मात्र होइन, यतिबेला मिथिला क्षेत्रमा तीज, चौरचन र अन्य लोकपर्वहरूको संयोगले पनि उत्सवमय वातावरण सिर्जना गरेको छ। गाउँघरदेखि सहरसम्म धार्मिक क्रियाकलाप, सामूहिक पूजाआजा र सांस्कृतिक रौनक छाएको छ।
यस पर्वले पारिवारिक एकता, पितृ सम्मान र वैदिक परम्पराको संरक्षणमा महत्वपूर्ण सन्देश प्रवाह गरिरहेको सांस्कृतिक विश्लेषकहरूको भनाइ छ। मिथिला क्षेत्रका बासिन्दा यस्ता पर्वहरूलाई पहिचान र परम्पराको आत्मा मान्दै पुस्तान्तरको प्रक्रियामा निरन्तर लागिपरेका छन्।



प्रतिक्रिया !