वीरगन्ज हैजा संकटमा, स्थानीय प्रशासनको आपत्कालीन प्रतिक्रिया

वीरगन्ज हैजा संकटमा, स्थानीय प्रशासनको आपत्कालीन प्रतिक्रिया

लोक आवाज,
पर्सा, भदौ ७ । वीरगन्जमा हैजा संक्रमण समुदायस्तरमै फैलिन थालेपछि स्वास्थ्य निकायहरू उच्च सतर्कतामा छन्। हालसम्म ३० भन्दा बढी बिरामी फेला परेका छन् भने झाडापखालाका कारण तीन जनाको मृत्यु भएको पुष्टि भएको छ। यद्यपि, मृतकमध्ये कसैमा हैजाको पुष्टि भइनसकेको जनाइएको छ। यसैबीच, परीक्षणमा तीन बिरामीमा हैजाको जीवाणु भिब्रियो कोलेरा पुष्टि भएको छ।

संक्रमणको पहिलो घटना शुक्रबार राति वीरगन्ज–१२, मुर्ली टोलमा देखिएपछि स्वास्थ्यकर्मीहरूको टोली तत्काल परिचालित गरिएको थियो। शनिबारसम्ममा वडा नम्बर ११, १३ र १६ मा संक्रमण फैलिएको पुष्टि भएको छ महानगरपालिकाले आपतकालीन प्रतिक्रिया स्वरूप अस्पताल सञ्चालकहरूसँग समन्वय बैठक गर्दै संक्रमण नियन्त्रणको लागि सम्पूर्ण स्रोतसाधन परिचालन गर्न थालेको छ। प्रमुख राजेशमान सिंहको निर्देशनमा ३२ वटै वडाका स्वास्थ्यकर्मीहरू प्रभावित क्षेत्रमा परिचालित गरिएका छन्। साथै, एम्बुलेन्स, औषधि तथा अन्य आवश्यक साधनहरूलाई स्ट्यान्डबाइमा राखिएको छ।

१ देखि १६ नम्बर वडासम्मको क्षेत्रलाई उच्च जोखिमयुक्त मानी संक्रमण नियन्त्रणको लागि हेल्प डेस्क, सूचना केन्द्र, र जनचेतनामूलक कार्यक्रम सुरु गरिएको महानगरले जनाएको छ। नारायणी अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा परीक्षण भइरहेका छन्। संक्रमण फैलनुमा ढल र खानेपानी मिसिएको समस्यालाई प्रमुख कारण मानिएको छ। यसै सन्दर्भमा, नागरिकलाई क्लोरिन प्रयोग गरेर पानी शुद्ध गर्न, उमालेर मात्र खाने, र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन अपील गरिएको छ। स्वास्थ्यकर्मीहरू अहिले घरघरमा पुगेर जनचेतना अभियान सञ्चालन गरिरहेका छन्।

वीरगन्जका अस्पतालहरूमा झाडापखालाका बिरामीको चाप तीव्र रूपमा बढ्दो छ, जसले अवस्थालाई थप जटिल बनाउने संकेत देखिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार