सुनिल कुमार साह ,
जनकपुरधाम, ६ भदौ । जनकपुरधाम–ढल्केवर सडकखण्डको विद्युतिकरण कार्य सम्पन्न भई औपचारिक रूपमा उद्घाटन गरिएको छ। करिब ४ करोड ६० लाख रुपैयाँको लागतमा सम्पन्न भएको उक्त परियोजनाको उद्घाटन नेकपा (एमाले) केन्द्रीय सचिव, विदेश विभाग प्रमुख तथा पूर्व उपप्रधानमन्त्री माननीय रघुवीर महासेठले पिरारी चौकमा विद्युतीय बत्तीको स्विच थिचेर गरेका हुन्।
यस विद्युतिकरण परियोजना जनकपुर (NH22) धनुषा योजनाअन्तर्गत निर्माण व्यवसायी कडेल ब्राइट सन जेभी काठमाडौँले सम्झौता अनुसार कार्य सम्पन्न गरेको हो। सम्झौता अनुसार कुल लागत ४ करोड ६० लाख १४ हजार ६ सय ५९ रुपैयाँ भएको सडक डिभिजन कार्यालयले जनाएको छ।
उद्घाटन समारोहमा मन्तव्य राख्दै पूर्व उपप्रधानमन्त्री महासेठले आफू भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहँदा नै यो सडकलाई विद्युतिकरण गर्ने सपना बोकेको स्मरण गरे। उनले २०८१/८२ को बजेटमा नै करिब ६ करोड ५० लाख रुपैयाँको बजेट व्यवस्थापन गरेको भए पनि प्रक्रिया अनुसार अन्ततः ४ करोड ६० लाख रुपैयाँमा टेन्डर स्वीकृत भएको बताए।
महासेठले जनकपुरधामको विकास र समृद्धिका लागि यो परियोजना मीलका पत्थर सावित हुने विश्वास व्यक्त गरे। उनका अनुसार, विद्युतिकरणले जनकपुरधामको सुरक्षा, पर्यटन प्रवर्द्धन, व्यापार–व्यवसाय र सामाजिक जीवनस्तरमा प्रत्यक्ष लाभ पुर्याउने छ।
उक्त कार्यक्रममा नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा धनुषा जिल्ला इञ्चार्ज, पूर्व मन्त्री जुली महतो, सडक डिभिजन कार्यालयका प्रमुख, इन्जिनियर, कर्मचारी, स्थानीय समाजसेवी, पत्रकार, विभिन्न राजनीतिक दलका नेताहरु र ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति थियो। सहभागीहरूले परियोजनाको सफल सम्पन्नतामा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यसरी नै पूर्वाधार विकासका काममा निरन्तरता दिन सरकार र सरोकारवालालाई आग्रह गरेका थिए।
स्थानीय व्यापारी र नागरिकहरूले सडकमा रातको समयमा सुरक्षित आवागमन सम्भव हुने, पर्यटकलाई सहज वातावरण उपलब्ध हुने र व्यवसायिक गतिविधिमा फाइदा पुग्ने अपेक्षा व्यक्त गरेका छन्। उनीहरूले यस परियोजनाले जनकपुरलाई आधुनिक शहरतर्फ डोर्याउने आधार तयार गरेको भन्दै सराहना गरेका छन्।

सडक डिभिजन कार्यालय धनुषाका प्रमुखले परियोजनाको सम्पूर्ण विवरण प्रस्तुत गर्दै भने, “सम्झौता अनुसारको लागत र मापदण्डमा निर्माण सम्पन्न भएको छ। अब यो सडकखण्ड अँध्यारोमुक्त मात्र नभई आधुनिक सुविधासम्पन्न बन्नेछ।” उनले जनताको प्रत्यक्ष लाभ हुने गरी परियोजना अघि बढाइएको स्पष्ट पारे।
जनकपुरधाम क्षेत्रलाई सांस्कृतिक, धार्मिक तथा पर्यटकीय राजधानीका रूपमा विकास गर्ने लक्ष्यसहित यस किसिमका पूर्वाधार परियोजना निरन्तर सञ्चालनमा रहेको जनाइएको छ।
यसै क्रममा, नेकपा एमाले नेताहरूले जनकपुरधामलाई “समृद्ध मधेस, विकसित जनकपुर” बनाउने अभियानमा यो परियोजना थप प्रेरणा बन्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमको समापनमा प्रमुख अतिथि महासेठले परियोजनामा संलग्न सम्पूर्ण पक्षलाई धन्यवाद दिँदै, आगामी दिनमा अझ ठूलो परिमाणमा विकास–निर्माण कार्य अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।




प्रतिक्रिया !