जनकपुरधाममा नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाअधिवेशन लक्षित दर्शन अनावरण कार्यक्रम भव्यताका साथ सम्पन्न

जनकपुरधाममा नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाअधिवेशन लक्षित दर्शन अनावरण कार्यक्रम भव्यताका साथ सम्पन्न

लोक आवाज ,

जनकपुरधाम, भदौ ६ । नेपाल जेसीजले आफ्नो ५० औं वार्षिकोत्सवको ऐतिहासिक अवसरलाई विशेष बनाउँदै जनकपुरधाममा आयोजित “Unveiling the Vision Ceremony” (दर्शन अनावरण कार्यक्रम) सम्पन्न गरेको छ। यस कार्यक्रममार्फत आगामी ५२ औं राष्ट्रिय महाअधिवेशनको लोगो अनावरण गरी औपचारिक रूपमा तयारीको शुभारम्भ गरिएको हो।

जनकपुर जेसीजको आतिथ्यमा हुन लागेको यस अधिवेशनलाई ऐतिहासिक र सफल बनाउन जनकपुरधामको जानकी मन्दिर प्राङ्गणलाई साक्षी बनाइ शुक्रवार भव्य समारोह आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न स्तरका प्रमुख अतिथि, विशिष्ट अतिथि, पूर्व पदाधिकारी, स्थानीय सरोकारवाला, सदस्य तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रह्यो।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका वन तथा वातावरण मन्त्री सञ्जय कुमार यादवले नेपाल जेसीजको योगदानको उच्च प्रशंसा गर्दै संगठनलाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्नु आजको आवश्यकता भएको बताए। उहाँले ५२ औं राष्ट्रिय महाअधिवेशन सफल होस् भन्ने शुभकामना दिंदै जेसीजले युवालाई नेतृत्व, सामाजिक उत्तरदायित्व र राष्ट्र निर्माणमा सक्रिय भूमिका खेल्न प्रेरित गरेको उल्लेख गरे।

विशिष्ट अतिथिहरूमध्ये नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष गणेश सापकोटा, जानकी मन्दिरका छोटा महन्थ रामरोशन दास, जेसीआई सिनेटर सुरेन्द्र महतो तथा ५२ औं राष्ट्रिय महाअधिवेशन निर्देशक सुधिर पजियार उपस्थित रहेका थिए। उनीहरूले पनि अधिवेशनलाई भव्य र ऐतिहासिक बनाउन सबै पक्षले आ–आफ्नो तहबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। उनका अनुसार, यो अधिवेशनले नेपाल जेसीजको प्रतिष्ठा मात्र बढाउने छैन, बरु यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको सकारात्मक छवि प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा जनकपुर जेसीजका पूर्व अध्यक्षहरू, वर्ष २०२५ का पदाधिकारीहरू, विभिन्न शाखाका सदस्य, पत्रकार, स्थानीय समाजका प्रतिष्ठित व्यक्तित्व तथा साधारण जनतासम्मको उत्साहपूर्ण उपस्थिति देखिनु उल्लेखनीय मानिएको छ।

समारोहको संयोजन जेसी रजनीश साहले गरेका थिए भने कार्यक्रम सञ्चालन ५२ औं राष्ट्रिय महाअधिवेशनका “उप-सम्मेलन निर्देशक” तथा वर्ष २०२१ का शाखा अध्यक्ष जेसी मनोज कुमार साहले गरेका थिए।

समापन मन्तव्य दिँदै अधिवेशन निर्देशक सुधिर पजियारले यो अनावरण समारोहलाई ५२ औं राष्ट्रिय महाअधिवेशनको औपचारिक यात्रा प्रारम्भ गर्ने ऐतिहासिक क्षण भएको बताए। उनले अधिवेशनले नयाँ दृष्टिकोण, कार्ययोजना र उपलब्धि सिर्जना गर्ने विश्वास व्यक्त गरे।

त्यस्तै, जनकपुर जेसीजका अध्यक्ष जेसी मुकेश कुमार साहले कार्यक्रममा उपस्थित सबै अतिथि, सहभागी तथा समर्थकहरूलाई धन्यवाद ज्ञापन गर्दै, ५२ औं राष्ट्रिय महाअधिवेशनलाई ऐतिहासिक र सफल बनाउन निरन्तर सहयोग आवश्यक रहेको बताए।

जनकपुरधाममा सम्पन्न यस दर्शन अनावरण समारोहले जेसीजको आगामी यात्रालाई मात्र होइन, स्थानीय समाजमा युवाको भूमिका र योगदानलाई समेत सशक्त बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार