लोक आवाज,
नगरकोट, भदौ ६ । खानेपानीमन्त्री प्रदीप यादवले देशभरका खानेपानी आयोजनाहरू अझै पनि प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसकेको भन्दै त्यसका लागि समन्वय, बजेट उपयोग, र महसुल व्यवस्थापनमा सुधार आवश्यक रहेको बताएका छन्।
आर्थिक वर्ष २०८१ र ८२ को वार्षिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास र समस्या समाधान समितिको नगरकोटमा आयोजित बैठकमा मन्त्री यादवले हाल पनि खानेपानीको पहुँच र गुणस्तरका सवालहरू गम्भीर चुनौतीका रूपमा कायम रहेको स्पष्ट पारे। “समस्या समाधान नभएसम्म सेवा प्रभावकारी हुँदैन,” उनले भने, “सबै तहका निकाय र कर्मचारीले पारदर्शिता, प्रतिबद्धता र जिम्मेवारीका साथ काम गर्नुपर्छ।” मन्त्री यादवले विशेषगरी तराई–मधेसका ओभरहेड ट्याङ्क निर्माण योजनाहरू वितरण प्रणाली अभावका कारण प्रयोगविहीन अवस्थामा रहेको उल्लेख गर्दै ती योजनाहरू शीघ्र सञ्चालनमा ल्याउन रणनीतिक र प्राविधिक उपाय अपनाउन निर्देशन दिएका छन्।
जलवायु परिवर्तनको असरले देशभर खानेपानीका मुहानहरू सुक्दै गएको उल्लेख गर्दै उनले मुहान संरक्षण तथा रिचार्ज कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिए। साथै, बजेट समयमै खर्च गर्न र महसुल संकलनको स्पष्ट व्यवस्था गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।




प्रतिक्रिया !