लोक आवाज,
विराटनगर, भदौ ६ । कोशी प्रदेश सरकारले संसद्मा पेश गरेको आमसञ्चारसम्बन्धी विधेयकको विरोधमा शुक्रबार यहाँका पत्रकारहरूले संसद् भवन परिसरमा धर्ना दिएका छन्। प्रेस स्वतन्त्रता खतरामा पर्ने भन्दै विरोधमा उत्रिएका पत्रकारहरूले निषेधित क्षेत्र मानिने प्रदेशसभा भवनको सभामुख प्रवेशद्वार नजिकै धर्ना गरेका थिए।
धर्नाको क्रममा प्रहरीसँग केही समय तनावपूर्ण परिस्थिती पनि सिर्जना भयो। प्रहरीले संसद् भवन भित्र सुरु गरिएको धर्नालाई बाहिर निकाल्दा पत्रकारहरूले संसद्को मुख्य गेट अगाडि शान्तिपूर्ण धर्ना जारी राखेका थिए। नेपाल पत्रकार महासंघ कोशी प्रदेश, संसदीय पत्रकार मञ्च, प्रेस सेन्टर, प्रेस युनियन, समाजवादी प्रेस संगठन लगायतका सञ्चार संस्थाहरूको व्यापक सहभागिता रहेको थियो।
विधेयकमा पत्रकारलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधानसमेत समावेश भएकोले पत्रकारहरू चिन्तित छन्। उनीहरूले विधेयक फिर्ता लिन वा प्रेस स्वतन्त्रता सुनिश्चित हुनेगरी संशोधन गर्न सरकारसँग माग गरेका छन्। पत्रकारहरूले संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकका विवादास्पद प्रावधानहरूले लोकतन्त्र र सञ्चार स्वतन्त्रतामा नकारात्मक प्रभाव पर्ने बताउँदै छिटो सुधार गर्नुपर्नेमा जोड दिएका छन्।




प्रतिक्रिया !