लोक आवाज,
सर्लाही, भदौ ६ । भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले शुक्रबार पदबाट राजीनामा दिएका छन्। पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै सिंहले आफ्नो राजीनामा पत्र बुझाएका हुन्।
सिंहले अदालतको निर्णयलाई स्वीकार गरे तापनि आफूलाई अन्याय गरिएको बताउँदै कानुनी र राजनीतिक संघर्ष भने निरन्तर चलाउने स्पष्ट पारेका छन्। २०५६ सालदेखि कांग्रेस सदस्य रहेका सिंह २०७८ साल फागुन २९ गते सर्लाही जिल्ला सभापतिमा निर्वाचित भएका थिए। यसअघि उनी दुई पटक उपसभापतिको जिम्मेवारी सम्हालेका थिए।
राजीनामा पत्रमा सिंहले भनेका छन्,
“माथि लागेको अन्यायको विरोधमा व्यक्तिगत रूपमा कानुनी तथा न्यायिक लडाइँ लडिरहने छु, साथै राजनीतिक संघर्ष पनि जारी रहनेछ। तर अदालतको निर्णय र पार्टी विधान अनुसार सभापतिको जिम्मेवारी निर्वाह गर्न सक्दिनँ।”
उनको राजीनामाले सर्लाही कांग्रेसको नेतृत्व रिक्त भएको छ र यसले जिल्लाको राजनीतिक परिदृश्यमा नयाँ तरंग ल्याएको छ।




प्रतिक्रिया !