सिरहाको गोलबजारमा किसानका लागि डिप बोरिङबाट सिँचाइ सुविधा

सिरहाको गोलबजारमा किसानका लागि डिप बोरिङबाट सिँचाइ सुविधा

लोक आवाज,
सिरहा, भदौ ५ । खडेरीका कारण रोपाइँ गर्न नसकेका सिरहाको गोलबजार नगरपालिका–२ निपनियाका किसानलाई राहत दिने उद्देश्यले डिप बोरिङ सञ्चालनमा ल्याइएको छ। गोलबजार नगरपालिकाको पहल र कमला सिँचाइ आयोजना कार्यालयको समन्वयमा करिब ७० लाख रुपैयाँको लागतमा डिप बोरिङ स्थापना गरिएको हो।

उक्त डिप बोरिङको उद्घाटन पूर्वमन्त्री लीलानाथ श्रेष्ठले बुधबार गरेका थिए। बोरिङसँगै १० हजार लिटर क्षमताको पानी ट्याङ्की समेत निर्माण गरिएको छ, जसले सिँचाइ व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। कमला सिँचाइ कार्यालयका अनुसार यो योजनाबाट करिब ७० बिघा क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ। गोलबजार नगर प्रमुख श्यामकुमार श्रेष्ठले हालसम्म नगरका विभिन्न वडामा ६ वटा डिप बोरिङ स्थापना भइसकेको जानकारी दिए।

“खडेरीले रोपाइँ गर्न नसकेका किसानहरूका लागि यो राहत हो,” नगर प्रमुख श्रेष्ठले भने, “आगामी दिनमा अन्य क्षेत्रहरूमा पनि यस्ता परियोजना विस्तार गर्ने योजना बनाएका छौं।” स्थानीय किसानहरूले सिँचाइ सुविधा सुरु भएपछि बाली लगाउन सहज हुने विश्वास व्यक्त गरेका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार