लोक आवाज,
काठमाडौँ, भदौ ५ । नेकपा माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले नेपालको शिक्षा प्रणाली समाजवाद उन्मुख हुन नसकेको भन्दै चासो व्यक्त गरेका छन्।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद यादवले देश र संविधानजस्तै शिक्षा प्रणाली पनि समाजवाद उन्मुख हुनुपर्ने आवश्यकता औंल्याए। “देश र संविधान समाजवाद उन्मुख छन्, शिक्षा पनि त्यही दिशामा जानुपर्छ,” उनले भने। हालको शिक्षा प्रणाली पूँजीवादी चरित्रतर्फ गइरहेको भन्दै उनले आलोचना गरे।
सांसद यादवले गरिब, जेहेन्दार र अति पिछडिएका विद्यार्थीलाई दिइने छात्रवृत्तिलाई गैरमुनाफामूलक ढंगले निरन्तरता दिनुपर्ने धारणा राखे। “छात्रवृत्तिको व्यवस्था गुठीकरणतिर जाँदैछ, तर यो व्यवस्था यथावत् रहनुपर्छ,” उनले स्पष्ट पारे। शिक्षा सम्बन्धी कानुन निर्माण गर्दा पुरानो सोच हावी हुन नहुने तर्क गर्दै यादवले भने, “पुरानो मानसिकताले बनेको कानुनले समतामूलक समाज निर्माणमा अवरोध पुग्छ।” उनले शिक्षा क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त गर्नुपर्नेमा जोड दिंदै भने, “शिक्षामा भएको राजनीतिक हस्तक्षेपले गुणस्तर प्रभावित भएको छ, यो छुट्याउनुपर्छ।”
यादवले भूगोल हेरेर मात्र होइन, मानव सूचकांकका आधारमा पनि नीति निर्माण गर्नुपर्ने बताए। “भूगोल मात्रै होइन, सामाजिक पक्ष, पछाडि परेका क्षेत्रको सूचकांकसमेत आधार बनाइनुपर्छ,” उनले सुझाव दिए। त्यस्तै, संघीय संरचना अनुसार प्रदेशलाई जिम्मेवारी दिइए पनि बोर्डको नियुक्ति संघ सरकारले गरिरहने अवस्थामाथि उनले प्रश्न उठाए।




प्रतिक्रिया !