पर्सामा २२ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद

पर्सामा २२ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद

लोक आवाज
पर्सा भदौ ४ । पर्साका विभिन्न स्थानमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण, पर्साको सक्रियतामा भन्सार छली गरेर ल्याइएका रु २२ लाख ४१ हजार २४० बराबरका सामानहरू बरामद गरिएको छ।

सूचना अधिकारी कृष्णसिंह पुजाराका अनुसार, सोमबार मात्रै रु ११ लाख ८३ हजार बराबरका सवारीसाधनका इन्जिन स्पेयर पार्ट्स नियन्त्रणमा लिइएका थिए। त्यस्तै, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले वीरगन्ज महानगर–१६ स्थित गोपालजी साहको घरबाट कपडा भण्डारण गरिएको सूचना पाएपछि छापा मारेर ती कपडाहरू बरामद गरेको हो।

यसैगरी, वीरगन्ज–१७ मा रहेको शंकरप्रसाद रौनियारको घरबाट रु ३ लाख ६० हजार ६३० बराबरको किराना सामान बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ। मङ्गलबार प्रदेश ००१ह १२२४ नम्बरको ई–रिक्सामा लोड गरी नगवातर्फ लैजाँदै गरिएको ६१५ लिटर घरेलु मदिरा र रु २ लाख ५० हजार मूल्यको रिक्सा समेत नियन्त्रणमा लिइएको थियो। त्यसैगरी, सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले भारतबाट भन्सार छली गर्दै ल्याइएको रु ४ लाख २९ हजार ५०० बराबरको मोबाइल पार्ट्स समेत नियन्त्रणमा लिएर वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ।

सशस्त्र प्रहरीको यो अभियानलाई सीमा सुरक्षाका साथै भन्सार छलन तथा अवैध कारोबार नियन्त्रणमा उल्लेखनीय सफलताका रूपमा लिइएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार